
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण विहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानका कारण काठमाडौंलगायत देशभर बिहानैबाट सुनसान छ । मुख्य राजमार्ग तथा अन्य सडकहरुमा समेत गाडीको संख्यामा उल्लेख्य कमी आएको छ ।
देशैभरका शैक्षिक संस्थाका विहानी सत्रका कक्षाहरु सुचारु हुन सकेनन् । त्यस्तै उद्योग, कलकारखाना, लगायत क्षेत्र पनि बन्द छ । काठमाडौँका सडक पनि सुनसान छन् । दुघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु सावरी साधन चल्न सकेका छैनन् । गत असार ५ गते नेकपा भोजपुर इन्चार्ज कुमार पौडेलको प्रहरीले गरेको हत्याको विरोधमा नेकपाले आज नेपाल बन्दका आह्वान गरेको हो ।
बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस निकालेको थियो । त्यस्तै बझाङ र झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका थिए ।
बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो ।
यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं। ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा पनि बम भेटिएको थियो । बन्दपछि सरकारले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । देशभर नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान लगायत सबै निकायका सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस