aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

बेइजिङमै थन्कियो अनुदानको खोप

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • बुधबार, ०४ चैत्र २०७७
बेइजिङमै थन्कियो अनुदानको खोप

काठमाडौं । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो ।

चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यसपछि माघ २३ मा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फागुन १७ मा ट्वीट गर्दै थप ३ लाख डोज खोप दिने जनाएकी थिइन् । चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो ।

तर आपत्कालीन रूपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन । ‘हाम्रो सूचनाअनुसार नेपाललाई अनुदानमा उपलब्ध गराउने भ्याक्सिन बेइजिङको स्टोरमा छ । अब त्यो भ्याक्सिन ल्याउने काम नेपालको हो,’ चिनियाँ दूतावासका एक अधिकारीले भने । उनका अनुसार नेपालका लागि फेब्रुअरीको अन्त्य (फागुन १५) तिर नै खोप छुट्याइएको थियो । ‘तर नेपालले हालसम्म उक्त खोप ल्याउन कुनै पनि जहाज पठाएको छैन,’ ती अधिकारीले भने ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले खोप ल्याउन परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरिसकेको छ । ‘अब ती मन्त्रालयले मिलेर भ्याक्सिन ल्याउनेछन्,’ मन्त्री त्रिपाठीले भने । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले चीनबाट खोप ल्याउन सरकारले गृहकार्य गरिरहेको बताइन् । नेपाल वायु सेवा निगमका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले चीनबाट भ्याक्सिन ल्याउन चार्टर्ड विमानको आग्रह गरेको छ । निगमले त्यस विषयमा जानकारी दिएर स्वास्थ्य मन्त्रालयलाई फेरि पत्र लेखेको छ । 

प्रतिक्रिया दिनुहोस