aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रधानमन्त्रीको निवास अझै व्यक्तिकै नाममा, चर्को राजनीतिक दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
प्रधानमन्त्रीको निवास अझै व्यक्तिकै नाममा, चर्को राजनीतिक दबाब

काठमाडौं । बालुवाटारस्थित ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ ।फिर्ता प्रस्ताव अलपत्र पर्दा अझै पनि प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिकै नाममा रहिरहेको छ । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा फिर्ताको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए पनि अन्तिम समयमा आएर मन्त्रालयले महान्यायाधिवक्तासँग छलफलकै क्रममा रहेको बहाना पार्दै मन्त्रिपरिषद्मा पठाउन रोकेको छ ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने मन्त्रिपरिषद्समेतको निर्णय जोडिएकाले व्यापक छलफलपछि मात्रै सो प्रस्ताव पुनः मन्त्रिपरिषद्मा पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको बताए । मन्त्रालय स्रोतका अनुसार सोसम्बन्धी प्रस्ताव छलफल भई महान्यायाधिवक्तासँग समेत परामर्श लिएर मन्त्रिपरिषद्मा पठाउने अन्तिम तयारी गरिएको थियो । ‘प्रस्ताव तयारी अवस्थामा छ तर किन रोकियो आश्चर्य लागेको छ,’ मन्त्रालयकै एक अधिकारीले भने ।

स्रोतका अनुसार उच्च राजनीतिक दबाबका कारण प्रस्ताव तयार भएको लामो समयसम्म पनि मन्त्रिपरिषद्मा पेस हुन नसकेको हो । फिर्ताको प्रस्ताव अलपत्र पर्दा यसबीचमा चलखेल हुनसक्ने तथा हडपिएको जग्गा फिर्ता हुन कठिन हुँदै जाने सम्भावना बढेको स्रोतको दाबी छ । मालपोत कार्यालय डिल्लीबजारबाट ललिता निवासको विवादित २८४ रोपनी जग्गाका कित्ता पहिचान गरी रोक्का राखिएको छ । यसक्रममा ४५० भन्दा बढी कित्ताको पहिचान भएको मन्त्रालयले जनाएको छ ।

मुआब्जा दिएर सरकारको नाममा ल्याइएको प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास क्षेत्रका जग्गा व्यक्तिका नाममा दर्ता भएको सार्वजनिक भएसँगै सरकारले १५ असार २०७५ मा यससम्बन्धमा छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिन गरेको थियो ।

१४ जेठ २०४७, ८ साउन २०४८ तथा ३ भदौ २०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारण जफत गरिएको कांग्रेस नेता सुवर्णशमशेर जबराको जफत भएको १४ रोपनी ११ आना जग्गा फिर्ता गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले पञ्चायतकालमा राजनीतिक कारण जफत गरिएका जग्गा फिर्ता गर्ने निर्णय गरेकोमा मालपोत कार्यालय डिल्लीबजारका मालपोत प्रमुखदेखि कर्मचारी र माफियाको संलग्नतामा ‘जफत’, ‘अधिग्रहण’ र ‘अधीन’ शब्दलाई एकै अर्थ लगाई सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा गरिएको थियो । आजको राजधानी दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस