aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
राजस्व

७ महिनामा सडक सुधार तथा मर्मत सम्भार दस्तुरमात्रै ११ अर्ब उठ्यो, खोई चिल्ला सडक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
७ महिनामा सडक सुधार तथा मर्मत सम्भार दस्तुरमात्रै ११ अर्ब उठ्यो, खोई चिल्ला सडक ?

काठमाडौं ।  सरकारले वर्षीनै सडक सुधार तथा निर्माण सम्भार गर्न भनेर ठूलो रकम उठाएपनि अहिलेसम्म राजधानीकै सडकको पनि खाल्डा खुल्टी पुर्न सकेको छ । वर्षामा हिलो र हिँउदमा धूलो उडेर राजधानी सडक हिडिनसक्नु हुन्छ । उपत्यका बाहिरको झन कुनै नगारौ , काठमाडौ कै भित्रि सडक एक किलो मिटरमा १० ठाउँमा खाल्डा खुल्टी हुन्छ । तर यसवापत भने ठूलो रकम आम उपभोक्तासँग असुल गरिरहेको छ । 

भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा करिब ११ अर्ब रुपैयाँ सडक सुधार शुल्क तथा सडक निर्माण सम्भार दस्तुर उठाएको छ । विभागले उठाएको सो राजस्वमध्ये ७ अर्ब २५ करोड सडक निर्माण सम्भार दस्तुर हो भने ३ अर्ब ६७ करोड राजस्व सडक सुधार शुल्क रहेको विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘उनले भने फागुन महिनामात्रै सडक निर्माण सम्भार दस्तुर १ अर्ब २० करोड उठेको छ भने सडक सुधार शुल्क ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

सरकारले खर्च गर्न नसके पनि राजस्व संकलनलाई भने विस्तारै बढाउँदै लगेको छ । चालु आवको अघिल्लो महिनामा लक्ष्यभन्दा अत्यन्त कम राजस्व संकलन भएपनि पछिल्लो महिनामा भने लक्ष्यको नजिक राजस्व संकलन पुग्न लागेको हो । यहि अवधिमा देशभित्रको राजस्व उठाउने जिम्मा पाएको आन्तरिक राजस्व विभाग र वाह्य व्यापारमा राजस्व असुल गर्ने जिम्मा पाएको भन्सार विभागले उठाउने राजस्वमा सुधार देखिएको हो । 
भन्सार र आन्तरिक राजस्व विभागले ५ खर्ब ३४ अर्ब राजस्व उठाए

यो अवधिमा आन्तरिक राजस्व विभागले लक्ष्यको ९९ प्रतिशत अर्थात अर्थात २ खर्ब ५३ अर्ब २५ करोड राजस्व उठाएको छ भने भन्सार विभागले दुबै विभागले लक्ष्यको ९६ प्रतिशत अर्थात कुल २ खर्ब ८० अर्ब ८१ करोड राजस्व उठाएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई २ खर्ब ५५ अर्ब ८० करोड राजस्व उठाउने जिम्मा दिएको थियो भने भन्सार विभागलाई २ खर्ब ९० करोड राजस्व संकलन गर्न लक्ष्य दिएको थियो । 

विभागका सूचना अधिकारी घिमिरेले अब विस्तारै व्यापार व्यवसाय पुरानै लयमा फर्कदै गएकोले राजस्व संलकन पनि बढ्दै गएको हो । हामी लक्ष्यको नजिक पुगेका छौं,’ उनले भने ‘अब व्यापार व्यवसाय बढ्ने हुँदा राजस्वको लक्ष्य भेटन मुस्किल पर्दैन ।’ चालु आवको अन्त्यसम्म लक्ष्य अनुसार नै राजस्व संकलन हुने उनको भनाइ छ । ‘फागुन महिनामा विभागले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ,’ उनले भने ।

कुन शीर्षकमा कति उठ्यो राजस्व  ?

फागुन महिनासम्म विभागले  भन्सार महसुलमा १ खर्ब २८ अर्ब, मूल्य अभिवृद्धि कर (भ्याट)मा १ खर्ब २५ अर्ब ४८ करोड र अन्तःशुल्कमा ३७ अर्ब ३४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यद्यपि यो अवधिमा भन्सार महसुलमात्रै लक्ष्यभन्दा ९७ करोडले बढी उठेको छ भने अन्य राजस्वका शीर्षकमा राजस्व लक्ष्य भन्दा कम उठेको छ ।  फागुन महिनासम्म भन्सार महसुलतर्फ १ खर्ब २८ अर्ब ९७ करोड राजस्व उठेको छ भने मूल्य अभिवृद्धि कर भ्याटमा १ खर्ब ६ अर्ब ४० करोड र अन्तः शुल्कतर्फ ३४ अर्ब ५१ करोड राजस्व संकलन भएको छ । 

फागुनमा मात्रै कस्तो छ अवस्था ? 

भन्सार विभागले फागनु महिनामात्रै लक्ष्यको तुलनामा १९ प्रतिशतले बढी राजस्व संकलन गरेको छ । विभागलाई अर्थ मन्त्रालयले फागुन महिनामा ३५ अर्ब २१ करोड राजस्व संकलन गर्ने जिम्मा दिएकोमा ४१ अर्ब ९० करोड राजस्व संकलन गरेको छ । सो अवधिसम्म विभागले भन्सार महसुल शीर्षकमा १८ अर्ब ७७ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) बाट १६ अर्ब १९ करोड र अन्तःशुल्कतर्फ ५ अबृ २३ करोड राजस्व संकलन गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस