aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

फिलिपिन्समा विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
फिलिपिन्समा विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

एजेन्सी । फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा  लगाइएको समाचारमा जनाइएको छ । 

प्राप्त समाचारअनुसार फिलिपिन्सको सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ । उक्त सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने बताइएको छ । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ । 

सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स आउन दिने बताइएको छ । यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा यहाँबाट बाहिर जाने सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ । 

फिलिपिन्समा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमितहरु देखिन थालेका छन् । विदेशबाट आएका नागरिकमा यसको संक्रमण बढी देखिएपछि यो यात्रा प्रतिबन्ध लगाइएको हो । मंगलबार मात्र पनि फिलिपिन्समा ५ हजार ४०० जना संक्रमित भेटिएका छन् । कोभिडको नयाँ प्रजातिको संक्रमण पनि बढेको देखिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस