aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

'महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
'महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ'

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताएका छन । 

उनले अहिले पार्टीहरु झैझगडामा लागेको टिप्पणी गरे । दलका नेताहरु झैझगडामा उत्रिएकोले देश समस्यामा परेको सुनाए । उनले सबै दलभित्र अहिले आन्तरिक झगडा रहेको दाबी गरे । उनले भने,‘नेकपा एमलोभित्र झगडा छ । संसदमा स्थिरता देखिँदैन् । उनीहरु झगडा गरुन् न, हामीले के पायौं त ? हामीले त नेकपालाई दुई तिहाई मत दिएका थियौं । हामीले खोजेको कुरा यही हो त ? एउटा नेतापनि चोखो छैनन् । सबै नेता नाँग्गै छन् । प्रतिपक्षीले पनि काम गर्न सकेन् । नेपालीले केही पाएनन् ।’

डा. दिक्षितले देश अहिले खत्तम अवस्थामा रहेको सुनाए । मुलुकमा रोजगारी नभएकोले लाखौं युवाहरु विदेशिन बाध्य भएको सुनाए । उनले भने,‘मुलुकमा रोजगारी छैन् । युवाहरु विदेशिन बाध्य भएका छन् । प्रधानमन्त्रीले चुनावमा जान संसद विघटन गर्नुभयो । तर, सर्वोच्च अदालतले त्यो निर्णय उल्टाईदियो । अहिले संसद चलेको छ । अब के कार्यक्रम लिएर अघि बढ्छ ? त्यो हेर्नुपर्छ ।’

ओलीजीले आफ्नो सरकार निरन्तरता चाहने हो भने विश्वासको मत लिनुपर्छ अवस्था अहिले आएको सुनाउँदै यदि विश्वासको मत लिन ओली असफल भए अर्को सरकार बनाउन प्रयास गर्नुपर्ने उनको भनाई छ । संविधानले तत्काल चुनावमा जान नभनेको पनि उनले उल्लेख गरे । 

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतत्व लिन लोभ देखायो भने कांग्रेस पनि पुरै नाँग्गिने उनको भविष्यवाणी छ । उनले भने,‘अहिले मुलुकलाई असल प्रधानमन्त्री चाहिएको छ । हामीलाई एकदमै असल प्रधानमन्त्री चाहिएको छ । ठूलो प्रोगाम चलाउनु छैन् । स्थिरता विश्वासका साथ लग्नुपर्छ ।’

उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखे । उनले भने,‘महन्थजी कांग्रेसबाट आएका हुन् । उनमा भ्रष्टाचारको दाग छैन् । भारतको नरसिंह रावजस्तै हुन् । सबैलाई मिलाएर लैजाने व्यक्ति हो । प्रधानमन्त्री बन्ने होडबाजी पनि छैन् । संसदको झैझगडा हुँदैन् । कांग्रेसले पनि यो कुरा मानिदियो भने, ओलीजीले पनि मानिदिए भने राम्रो हुन्छ । जसपामा उपेन्द्र यादव, राजन्द्र महतो पनि छन् । तर, मुलुकको लागि उपेन्द्र र राजेन्द्र भन्दा ठाकुर नै उपयुक्त हुन्छ । अगर ओलीले मत पाउन सक्नुभएन भने, कांग्रेस यता लाग्नुहुँदैन् । ठाकुरले सबै दलललाई मिलाएर सरकार बनाउनुपर्छ । चुनावी सरकार हुन्छ । सर्वदलीय सरकार बनाउनुपर्छ । मैले त यही निकास देखेको छु ।’

उनले संसदले सरकार बनाउने कुरामा पटक्कै विकल्प दिन सकेन भने मुलुक चुनावमा जान सक्ने पनि बताए । तर, तत्काल चुनावमा जाने अवस्था नभएको उनको भनाई छ । उनले नेकपा (एमाले) फुटोसा वा एक होस त्यो आफूहरुलाई मतलबको विषय नभएको पनि टिप्पणी गरे । 

उनले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना नरहेको पनि दाबी गरे । उनले भने, उहाँ प्रधानमन्त्री बन्ने सम्भावना छैन् । कांग्रेस सभापति शेरबहादुर देउवाको के हैसियत छ ? कांग्रेस पनि फुटेको छ । एकता छैन् । बरु, कांग्रेस बलियो बनाएर चुनावमा जाओस । कांग्रेस सरकारमा जानुहुँदैन् । अहिले सरकारमा नजाने हो भने उसले अर्को चुनावमा जित्छ । फाईदा उठाउन सक्छ । उसले सरकारमा जान लोभ र लालच गर्नुहुन्न ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले यस्तो बताएका हुन् । उनले अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै रहेको टिप्पणी गरेका छन् । उनले भने,‘मूल कारण नेकपा हो । नेकपा जनताबाट जुन विश्वास र आस्थाको आधारमा जुन मत लिएर आयो, तर उसले जनतालाई त्यो आस्था र भरोसा दिन सकेन् ।

उसको आपसी द्धन्द्धले अन्यौल भयो । उहाँहरुले सरकार बनाउनुभयो । तीन वर्ष चलाउनुभयो । सरकार बनेको दिनदेखि संविधान भत्किने काम भयो । प्रतिनिधिसभा विघटन हुनुभन्दा पहिलेपनि पनि आधा दर्जन संविधान भत्किने काम भयो । सातौं पटक त प्रतिनिधिसभा विघटन गर्दा भयो । र, आँठौं पटक आँफै भत्किनुभयो । नेकपाको कारण मुलुकको आज यो अवस्था सिर्जना भयो ।’

उनले सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाले वैकल्पिक सरकार बनाउनुपर्छ भनेको उल्लेख गर्दै अहिले सरकार बन्ने अवस्था रहेको सुनाए । तर, प्रतिनिधिसभाले सरकार बनाउन सकेन भने प्रकान्तरणमा मुलुक चुनावमा जानुपर्ने पनि उनले उल्लेख गरे । उनले आफ्नो पार्टी अनिर्णयको बन्दी नबनेको पनि दाबी गरे । तर, आफूहरु परिस्थिति सुनिश्चित्ताको पखाईमा रहेको लेखकको भनाई छ ।

नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरि अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि आग्रह गरेका छन् । 

उनले सरकार बचाउनको लागि आफूहरुले केही पनि नगरेको स्पष्ट पारे । उनले भने,‘हामीले केही पनि गरेको छैन् । होटेलमा लगेर सांसद लगेर थुनेको छैन् । हामी त नीति, निष्ठा र विचारको आधारमा अघि बढेका छौं । विदेशीको लागि कम्फर्टेवल सरकार पनि बनाउने भनेको छैन् । बरु, यो सरकारलाई समर्थन गर्न अपिल गरेका छौं ।’

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएको सुनाउँदै त्यसपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको पनि अधिकारीले जनाए । उनले पार्टी अध्यक्षले विधानबमोजिम नै फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठक बोलाएको स्पष्ट पारे । उनले भने,‘अध्यक्षले बैठक बोलाउने हो । त्यहीअनुसार फागुन २८ गतेको बैठक बोलाउनुभएको हो ।

अहिले उहाँले चैत्र ७ गतेको लागि बैठक आह्वान गर्नुभएको छ । गुटगत भेला गर्नेलाई कारबाही गर्ने भन्दापनि हामी कसैलाई कारबाही गरेर गौरव गर्नुभन्दापनि विचारमा एकता भएर अघि बढ्न चाहन्छौं । तर, कसैले हातमा जौ, तिल लिएर पार्टी फोड्छु भन्यो भने हामी विधानअनुसार अघि बढ्छौं । हामीसँग बहुमत कोरम छ, हामी बैठक सञ्चालन गर्छौं । सांसद पद जाने वा नजोन भन्ने कुरा मैले जान्दिनँ ।’

अधिकारले वर्तमान राजनीतिक परिस्थिति सुनाउँदै आधुनिक नेपालमा आफूहरुले पाँच वर्ष प्रधानमन्त्री भएको देख्न नपाएको सुनाए । उनले भने,‘चाहे विपी कोइराला हुन वा केपी ओली । हामीले पाँच वर्ष प्रधानमन्त्री भएको देख्न पाएनौं । हामीले पटक पटकको नाकाबन्दी सामना गर्दै आयौं । पछिल्लो पटकको नाकावन्दी सायद केपी ओली भएर नै सामाना गर्नुभयो । अहिलेपनि नेपाल आमा चिच्याईरहेकी छिन् । प्यारो धर्तीलाई बचाउनको लागि । हामी अघि बढिरहेका छौं ।’ अधिकारीले पार्टीको दुर्घटनाको सम्भावना छँदै थियो भन्ने टिप्पणी गरे । तर, दुर्घटना नहुनको लागि आफूहरुले भरपुर कोशिस गरेको सुनाए । तर, दुर्घटना टार्न नसकेको उनको भनाई छ । 

प्रतिनिधिसभा पूनःस्थापना भएपछि पनि सही ढंगले संसद् नचलेको उनको गुनासो छ । उनले भने,‘संविधानको धारा ११४ ले संसद् बसेकै दिन अध्यादेश टेबुल गर्नुपर्छ भन्छ । संसद बसेकै दिन टेबुल गर्नुपर्छ । तर, संसद् पूनःस्थापनाले अराजकता भयो । अध्यादेश टेबुल हुन दिईएन । सरकारले प्रस्तुत गरेका अध्यादेश डे वान मै प्रस्तुत हुन पाएन । अनि को हो त ? संविधानको परिपालना गर्ने ?’

उनले पार्टी विभाजन हुँदा खुशी हुनेपनि रहेको उल्लेख गर्दै एकतालाई जोगाउनको लागि सबै गम्भीर हुनुपर्ने बताए । तर, सिद्धान्तहीन एकता भने हुन नसक्ने उनको भनाई थियो । उनले भने,‘नीति, निष्ठाका साथ एकता हुनुपर्छ । हिजोको एकता त्रुटिपूर्ण रहेछ । भावनात्मक एकताले पनि त्रुटि रहेछ । नयाँ उचाईका साथ एकतालाई अघि बढाउनुपर्छ । संसदलाई कमजोर पार्ने काम जसले गरेको छ, त्यसको सही मुल्यांकन जनताले गरेका छन् । हामी सही ठाउँमा छौं । राष्ट्रिय एकताको लागि हामी एक छौं । ओलीलाई साधुवाद भन्छु । उहाँकै कारण एकता भएको थियो । केही साथीहरुलाई हिजोको ह्यांगओभर छ । तर, क्रान्तिकारीले धैर्यता गुमाउनुहुँदैन् ।’ 

उनले माधव नेपाल पक्षले ललितपुरमा आजबाट सुरु गरेको भेलालाई लक्षित गर्दै पार्टीले गुटगत भेला नगर्न भनेको सुनाए । तर, पार्टी अध्यक्ष र महासचिवले भेला नगर्न भनेपछि त्यो भेला गुट भएको पनि उनको टिप्पणी छ । 

उनले नेपाली प्यारो भूमिमाथि वैदेशिक हस्तक्षेप भैरहेको पनि दाबी गरे । र, आफूले त संसदमा संकल्प प्रस्ताव पनि पेश गरेको उनले स्मरण गराए । उनले देशको झण्डा माथि उठाउने काम गर्न सबैलाई आग्रह गरे । उनले आफ्नो पार्टीले देशभक्ति काम अघि बढाउने विश्वास दिलाए । 

उनले संसद्ले सरकार दिन सकेन भने राजनीतिक रुपमा प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव जान चालेको कदम सही रहेछ भन्ने पुष्टि हुनेपनि जिकिर गरे । सरकारले धेरै विकास निर्माणका काम गरेको र सुशासन पनि दिएको उनको दाबी छ । उनले सरकारको समृद्धिको यात्रा अहिले जारी रहेको जनाए । 

नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । 

उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । उनले भने,‘समस्याको समाधान हामील्े समर्थन फिर्ता  लिएर मात्रै हुँदैन् । प्रधानमन्त्री हुन को तयार छ ? नभए ओलीजी नै हुनुहुन्छ । अरु दलहरुले हिम्मत गर्नुपर्यो । प्रमुख प्रतिपक्षी दल वेटिंग ईन गभर्मेन्ट हो । सत्ता पक्षले राज्य सञ्चालन गर्न सकेन भने, प्रतिपक्षी हिम्मत गरेर आउनुपर्यो नि । हामी त नेकपा सरकारमै थियौं ।’ तर, आफूहरु अहिले सरकारमा नभएको उनको भनाई छ । 

माओवादी केन्द्रका साथीहरु एमालेमै समाहित भएको पनि उनले सुनाए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने उनले सम्भावना सुनाए । सरकारमा सहभागी भएका माओवादी केन्द्रका साथीहरुलाई आफूहरुले पार्टीमा फर्कन अनुरोध गरेको सुनाए । उनले नेकपा एमाले नफुटोस भन्ने आफूहरुको चाहना रहेको सुनाए । उनले भने,‘आन्दोलन नफुटाऔं । कांग्रेस पनि एक ढिक्का हुनुपर्छ । माोवादीलाई त्यस्तो समस्या छैन् । एमालेभित्र देखिएको समस्या निषेध गर्नुहुन्न क्या ।’ सरकारको नेतृत्व गर्नेगरि कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएर नआए आफूहरुले के गर्ने ? भन्नेबारे अहिले छलफल गरिरहेको स्पष्ट पारे । 

उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको सुनाए । उनले अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि जिकिर गरे । कांग्रेस र जसपाले सहमति गरेर आउँदा आफूहरुको समर्थन हुने उनको भनाई छ ।

नेता शर्माले देशको राजनीतकि परिस्थिति अलि अलि गम्भीर नै रहेको सुनाए । उनले भने,‘नेकपाभित्र उत्पन्न विवादका कारणले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको छ । अहिले हामी अलग अलग भयौं । हामीले लामो प्रयत्न गरेर एकता गरेका थियौं । अन्तरविरोधहरुलाई हल गर्ने कुरा जिम्मेवार नेताको काम हो । नेकपाभित्रका नेता पार्टीभित्रको अन्तरविरोध हल गर्न असफल हुनुभयो । नेतृत्वकै संकट हो । नेताहरुको संकट हो । घरमुलीले सम्हाल्ने हो नि घरको समस्याको समाधान गर्ने कुरा । दुवै जना जिम्मेवार छन् । 

अलिकति बढि जिम्मेवार प्रधानमन्त्री ओलीजी हुनुहुन्छ । हामी विभाजित हुनुपर्ने स्थिति हो । मैले त मेरो नेता ओलीजीलाई मानेको थिएँ । अलग अलग हुँदा मलाई दुःख लागेको छ। तर, अब ओली कमरेडलाई मैले नेता मान्न सकिनँ । जनप्रतिनिधि संस्था, जनताको उत्साहका साथ मत दिए । दुई तिहाईको मत दिए । स्वयम प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । मलाई दुःख लाग्यो । संसद् विघटन गर्नुहुन्थेन् । अहिले आन्तरिक विवादका कारण पार्टी विभाजन भयो । मैले प्रधानमन्त्रीलाई भनेको थिएँ कि तपाईँ पाँच वर्षको प्रधानमन्त्री हो । उहाँले संसद्मा बहुमत प्राप्त गर्नुहुन्थ्यो । तर, उहाँले संसद् फेश गर्नुभएन ।’

उनले नयाँ सरकार गठनको लागि सहमतिको आधारमा छलफल चलिरहेको सुनाए । तर, प्रधानमन्त्रीको टुँगो नलाग्दासम्म आफ्नो पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने जिकिर गरे । शर्माले भने,‘नयाँ सरकार बन्ने बाटो सिर्जना नभएसम्म समर्थन फिर्ता लिँदैन् । संकट निम्त्याउने मान्छे हामीलाई चाहिएको छैन् । ओलीजीले संसद फेश गर्नुभएन ।

त्यो उहाँको एउटा कमजोरी भयो । संसद् पूनःस्थापना भएपछि उहाँ पछि फर्किएको भए, राजनीतिक एउटा सही बाटोबाट अघि बढ्थ्यो । हामीले संसदबाट जबरजस्ती अवस्थाबाट हटाउनुपर्ने अवस्था आयो । प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गरेर । राजीनामा दिन मान्नुभएको छैन् । उहाँसँग हठ छ, त्यो नै उहाँको कमजोरी हो । हठले मान्छेलाई बिगार्छ । आग्रह र पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ ।’


 

प्रतिक्रिया दिनुहोस