aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

तीन वर्षमा नयाँ मतदाता ८ लाख ४३ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
तीन वर्षमा नयाँ मतदाता ८ लाख ४३ हजार

काठमाडौं । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिक पछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् ।

नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ । यसअघि, २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख थिए । यो संख्या आधार मान्दा तीन वर्षमा ८ लाख ४३ हजार नयाँ मतदाता थपिएका हुन् ।

सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटन निर्णय गरेर वैशाखका लागि नयाँ निर्वाचन मिति तोकेपछि आयोगले गत ६ पुसबाट नामावली संकलन रोक्नुका साथै संकलित नामावली अद्यावधिक गरेको थियो । तर, सरकारले तोकेको निर्वाचन भने संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै स्थगित भइसकेको छ ।

आयोगले निकालेको नयाँ नामावली सूचीअनुसार सबैभन्दा धेरै मतदाता मोरङमा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ छन् । त्यस्तै, सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस