
काठमाडौं । सरकारी पक्षको लापरबाहीका कारण अनुदानको चिनी खरीदमा ढिलाइ भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले अनुदानको चिनी खरीदका लागि करीब ६ महीनाअघि नै अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर कम्पनीले हालसम्म पत्रको जवाफ समेत पाउन सकेको छैन ।
‘हामीले खरीद अनुमति माग्दै मन्त्रालयमा पठाएको पत्र कहाँ पुग्यो, केही थाहा छैन । तर पनि जवाफ कुर्दै बसेका छौं,’ साल्ट ट्रेडिङका महाप्रबन्धक कुमारराज भण्डारीले भने । मन्त्रालयले नै ध्यान नदिँदा मौज्दात सकिए पनि थप चिनी खरीदमा ढिलाइ भएको उनले बताए । उनका अनुसार यतिबेला कम्पनीसँग करीब ४०० टन मात्र चिनी मौज्दात छ । व्यापारी वा डिलरलाई बेच्ने हो भने यो चिनी एक दिनका लागि पनि नपुग्ने उनले बताए ।
खरीद अनुमति पाउन ढिलाइ हुनुमा कम्पनीले मन्त्रालयको कमजोरी देखाइरहेको छ । यसअघि फागुन मसान्तसम्ममा खरीद अनुमति दिइने बताएको मन्त्रालय भने यतिबेला ढिलाइको दोष चिनी उत्पादक संघमाथि थोपरिरहेको छ । चिनी उत्पादक संघले यस वर्ष उत्पादन भएको चिनीको तथ्यांक उपलब्ध गराउन ढिलाइ गरेकाले खरीद अनुमति दिन नसकिएको मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस