
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ ।
भेलाले पार्टी विधान विपरित विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर र परिवर्तन तथा पार्टी सदस्यसमेत नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने गत फागुन २८ गतेको निर्णय अवैधानिक रहेको ठहर गरेको छ । नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा समेत गरेको छ ।
भेलाले गत फागुन २८ गतेको निर्णय रद्द गरी क्रमशः स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न माग गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई अवैधानिक ठहर गर्दै संसद् बैठक बोलाउने सर्वोच्चको फैसलाको स्वागतसमेत गरेको छ ।
भेलामा पूराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमलप्रसाद कोइराला, राधाकृष्ण मैनाली, शीतल झा, केशरमणि पोखरेललगायत सहभागी थिए। बुधबार शुरु भएको भेलामा देशभरबाट नेपाल पक्षीय अगुवा नेता कार्यकर्ताको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस