aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

सस्तो छ नेपालमा दाँतको उपचार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ०८ चैत्र २०७७
सस्तो छ नेपालमा दाँतको उपचार

काठमाडौं । विदेशको तुलनामा नेपालमा दाँतको उपचार धेरै सस्तो भए पनि नेपालीको आर्थिक सम्पन्नताको तुलनामा अन्य उपचारभन्दा मुख स्वास्थ्य उपचार धेरै महँंगो छ । वरिष्ठ दाँत रोग विशेषज्ञ डा. सुवास घिमिरेले सरकारी निकाय नै मुख स्वास्थ्यप्रति उदासीन रहेको बताउँछन् । स्वास्थ्य मन्त्रालयले मुख स्वास्थ्य दिवसमा कुनै पनि कार्यक्रम नगरेकोप्रति गुनासो गर्दै उनले सबैभन्दा महìवपूर्ण मुख स्वास्थ्यमै सरकारको ध्यान नजानु दुःखद भएको बताए ।

उनले नेपालमा मुख स्वास्थ्य (दाँतको उपचार) अन्य मुलुकभन्दा धेरै सस्तो रहेको जानकारी दिँदै नेपालीको आम्दानीको तुलनामा महँंगो भएको बताए । दन्तरोगको सबै उपकरण विदेशबाटै आउने हुँदा अन्य मुलुकको तुलनामा धेरै सस्तो भएको उनको दाबी छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विजरल्यान्डदेखि नेपाली दाँतको उपचारका लागि नेपालमै आउने उनको भनाइ छ । 

डा. घिमिरेका अनुसार नेपालमा ७० प्रतिशत बालबालिकाको दाँतमा कीरा लाग्ने गरेको छ भने ९० प्रतिशत बालबालिकादेखि वृद्धसम्मलाई गिँजाको समस्या छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य विभाग प्रमुख डा. प्रकाश बुढाथोकीले यस पटक स्वास्थ्य मन्त्रालयले मुख स्वास्थ्य दिवसमा कुनै कार्यक्रम नगरेको स्वीकार्दै अन्य सङ्घसंस्थाले गरेको कार्यक्रममा समन्वयनात्मक भूमिका निर्वाह गरेको बताए । उनले मुख स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा पार्नु जरुरी भएको स्पष्ट पारे ।   

दन्तरोग सहायक सर्वेश्वर घिमिरेले आफूले दैनिक ३० जनासम्म दाँतका रोगीको उपचार गर्ने गरेको जानकारी दिँदै सबै रोगी दाँत कीराले खाएका, आरसीटी गर्नुपर्ने, दाँत निकाल्नुपर्ने अस्पताल आउने गरेको जानकारी दिनुभयो । यसैबीच शनिबार विश्व मुख दिवस मनाइएको छ । चाबहिलस्थित ओम समाज डेन्टल अस्पताल र नेपाल डेन्टल एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुख स्वास्थ्य प्राथमिकतामा राखिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस