
काठमाडौं । मुलुकमा आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा एक महिनामै सवा खर्बले व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा व्यापार घाटा बढेर एक खर्ब २९ अर्ब ४८ करोड ३२ लाख ७७ हजार पुगेको हो ।
चालू आर्थिक वर्षको आठ महिना अर्थात् फागुनसम्म व्यापार घाटा बढेर ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार पुगेको छ । चालू आवकै अघिल्लो माघ महिनासम्म व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७२ करोड ११ लाख २ हजार रुपैयाँ थियो । आयात बढ्दै गएकाले व्यापार घाटा पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो समय मुलुकमा कोभिडको प्रभाव कम भई आयात बढ्न थालेपछि व्यापार घाटा एक्कासी बढेको हो ।
फागुन महिनामा पेट्रोल, डिजेल, मोबाइल, खाना पकाउने एलपी ग्यास, भटमासको कच्चा पदार्थको आयात बढेकाले पनि व्यापार घाटा ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । विभागका अनुसार फागुन महिनासम्म आयात २ दशमलव १४ प्रतिशतले बढेर ९ खर्ब ४३ अर्ब ३९ करोड ८८ लाख २५ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ९ खर्ब २४ अर्ब २४ करोड २३ लाख ५ हजार रुपैयाँ आयात भएको थियो ।
फागुनसम्म निर्यातमा ७ दशमलव ८४ प्रतिशतले बढेर ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ । गत वर्ष सो अवधिमा ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँको निर्यात भएको थियो ।
आठ महिनामा सबैभन्दा बढी डिजेल ४७ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । यस्तै ४४ अर्ब ४५ करोड रुपैयाँको एमएस विलेट आयात भएको छ । गत वर्षको आठ महिनामा ३२ अर्ब २४ करोड रुपैयाँको मात्रै आयात भएको थियो । यस्तै मोबाइल टेलिफोन पनि उल्लेख्य रूपमा आयात भएको छ । तथ्यांक अनुसार आठ महिनामै २६ अर्ब ३० करोड रुपैयाँको आयात भएको छ ।
गत आर्थिक वर्षको पहिलो आठ महिनामा १४ अर्ब ३७ करोड रुपैयाँको आयात भएको थियो । आठ महिनाको अवधिमा यो २५ अर्ब २ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि भटमासको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरेर पुनः निर्यात हुने गर्छ । यस्तै खाना पकाउने एलपी ग्यासको आयात २१ अर्ब ५ करोड भएको छ । तयारी कपडा आयातमा २० अर्ब ८ करोड र पेट्रोल खरिदमा १९ अर्ब २६ करोड रुपैयाँ बिदेसिएको छ । चामल उपभोग गर्ने व्यक्ति बर्सेनि बढिरहेकाले तत्काल चामल आयात बढ्दै गएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस