
एजेन्सी । सन् २०२० मा समेत विश्वका सर्वाधिक धनीहरूको सूचीमा मानिसहरूको सङ्ख्या उल्लेख्यरुपमा बढ्यो । जबकि त्यो वर्ष संसार नै कोरोना भाइरसको महामारीबाट नराम्ररी आक्रान्त बनेको थियो । अल्ट्रा हाइ नेटवर्थ भएका मानिसहरूको रूपमा चिनिने यस्ता सर्वाधिक धनी भनिने संसारभरका मानिसहरू अहिले ५ लाख २१ हजार ६५३ जना छन् । सन् २०२० मा मात्र २.४ प्रतिशतले धनीहरूको सङ्ख्या बढेको द वेल्थ रिपोर्ट २०२१ मा देखिएको छ ।
अल्ट्रा हाइ नेटवर्थ भएका मानिसहरू भन्नाले ३० मिलियन डलरभन्दा बढी खुद सम्पत्ति भएका मानिससहरु भन्ने बुझिन्छन् । नेटवर्कको अर्थ कुनै पनि मानिसको हालको आर्थिक अवस्था वा सम्पत्तिको मूल्याकंनगरि त्यसबाट उमाथी रहेको आर्थिक दायित्व घटाउँदा हुन आउने सम्पत्ति हो । छोटोमा भन्नुपर्दा कुनै पनि मानिससँग भएको पैसामा रूपान्तरण गर्न सकिने सम्पत्ति र उसले भुक्तानी गर्नुपर्ने वित्तीय दायित्वबिचको अन्तर ३० मिलियन डलर रहेका व्यक्तिहरू यो सूचीमा समावेश हुने गर्छन् ।
हालै प्रकाशित सूची अनुसार अमेरिकामा सबैभन्दा बढी यस्ता मानिसहरू रहेका छन् । जसको सङ्ख्या एक लाख ८० हजार रहेको छ । त्यस्तै, चीनमा ७० हजार रहेका छन् भने तेस्रोमा जर्मनी रहेको छ । जहाँ २८ हजार अल्ट्रा हाइ नेटवर्थ भएका मानिसहरू रहेका छन् ।
रोचक कुरा के छ भने, सन् २०१५ यता अमेरिकामा मात्र १६ प्रतिशत धनिरुह बढेका छन् । उता चीनमा भने यो पाँच वर्षका अवधिमा १३७ प्रतिशतले अत्यधिक धनीहरू बढेका छन् । धनी मानिसहरू बस्ने मुलुकको सूचीमा चौथो नम्बरमा रहेको बेलायतमा भने यो सङ्ख्या घट्दो छ । पाँच वर्षमा ८ प्रतिशतले धनीहरू घट्दा अहिले बेलायतमा १६ हजार यस्ता मानिसहरू रहेका छन् ।
यसरी हेर्दा अब चाडै नै चीनले अमेरिकालाई पछि पार्दै धनी मानिसहरूको सूचीमा आफूलाई एक नम्बरमा राख्ने देखिन्छ । भलै चीन र अमेरिकाबिच यो सङ्ख्यात्मक दुरी ठुलो छ । तर, चीनमा धनी मानिसहरूको सङ्ख्या बढ्ने दर अत्यधिक नै देखिन्छ ।
त्यति मात्रै होइन एसियाले अब धनी मानिसहरू बस्ने महादेशकोरुपमा आफ्नो परिचय बनाउने समेत संकेत देखिएको छ । किनकि एसियाली मुलुक जापान यस्तो सूचीमा छैटौँ नम्बरमा रहेको छ । त्यसैगरि, ११ औँ, १२ औँ र १३ नम्बरमा क्रमशः दक्षिण कोरिया, साउदी अरब र भारत रहेका छन् ।
साउदी अरबमा त झन् पाँच वर्षको अवधिमा २२७ प्रतिशतले धनी मानिसहरू बढेका छन् । त्यसैगरि, अन्य एसियाली मुलुकहरू हङकङ र सिंगापुर पनि सूचीको १७ औँ र १८ औँ नम्बरमा परेका छन् । सूची प्रकाशनकर्ता नाइट फ्रा्न्कले हङकङलाईसमेत छुट्टै मुलुकको रूपमा सूचीमा समेटेको छ । जबकि हङकङलाई चीनले आफ्नो भूमि मान्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस