
काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका थिए ।
भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए।
बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो ।
बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी थिइन । रासस
प्रतिक्रिया दिनुहोस