
काठमाडौं । प्रविधिको प्रयोग गरी भुक्तानी सेवा सञ्चालन गर्ने कम्पनीहरुको खरिद/बिक्रीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणाली र भुक्तानी सेवा दिने कम्पनीहरुलाई सूचना जारी गर्दै सेयर खरिद बिक्री गर्नुपूर्व अनिवार्य रुपमा स्वीकृति लिन निर्देशन दिएको हो ।
अनलाइन भुक्तानी सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै यस सम्बन्धी कम्पनीहरु खुल्ने क्रम बढेको छ । तर, कतिपय व्यक्तिले राष्ट्र बैंकबाट स्वीकृति लिएर कम्पनी सञ्चालन अगावै सेयर बिक्री गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।
भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार राष्ट्र बैंकबाट सेवा सञ्चालन गर्ने अनुमति पाएका कम्पनीहरुले सेयर खरिद बिक्री अगाडी अनिवार्य स्वीकृति लिनुपर्ने बताए । “राष्ट्र बैंकले लाइसेन्स दिँदा नै कम्पनीका सेयरधनीको क्षमता, योग्यता, उनीहरुले लगानी गरेको पुँजीको स्रोत लगायतका विषयमा अध्ययन गरेको हुन्छ” उनले भने, “त्यसैले लगानीकर्ताले सेयर खरिद बिक्री गर्नुपूर्व केन्द्रीय बैंकको स्वीकृति अनिवार्य गरिएको हो ।”
कार्यकारी निर्देशक कँडेलले अहिलेसम्म कुनै कम्पनीमा सेयर खरिद बिक्रीबारे राष्ट्र बैंकको जानकारीमा नआएको बताए । वालेटमार्फत भुक्तानी सेवा प्रदान गर्ने एक कम्पनीका सञ्चालकले अनुमतिपत्र लिएका नयाँ कम्पनीहरु बिक्रीमा रहेको दावी गरे । “कतिपय व्यक्तिहरुले पहुँचका आधारमा पनि राष्ट्र बैंकबाट लाइसेन्स लिएका छन्” उनले भने, “अहिले महंगोमा बिक्री गर्न खोजेपछि केन्द्रीय बैंकले चासो दिएका हो ।”
पछिल्लो समयमा अन्तरबैंक रकम ट्रान्सफरदेखि मोवाइलको रिचार्ज, युटिलिटी बिल पेमेन्ट, दैनिक उपभोग्य सामानको खरिद, रेस्टुरेन्टमा बिल तिर्न र गाडी भाडा तिर्न समेत विद्युतीय माध्यम प्रयोग बढिरहेको छ । यो क्षेत्रमा सम्भावना देखेर नयाँ नयाँ लगानीकर्ता थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस