काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
महानगरपालिकाले पूर्वाधार विकासमा कुल बजेट ३९ प्रतिशत छुट्याएको छ । भवन तथा सहरी विकास बैकल्पिक ऊर्जा र संचार, सडक तथा अन्य पूर्वाधारमा यो बजेट समेटिएको छ ।
महानगरपालिकाले ७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा खर्च गर्नेछ । त्यस्तै, सामाजिक विकासलाई ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट विनियोजन गरिएको छ ।
आर्थिक विकास तर्फ ६९ करोड ७ लाख ७४ हजार बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ४ प्रतिशत हुन आउँछ । वातावरण तथा विपत् व्यवस्थापनमा ३९ करोड १५ लाख ४५ हजार बजेट विनियोजन गरेको छ । कुल बजेटको ४ प्रतिशत रहेको छ ।
संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनमा ३ अर्ब ५९ करोड १८ लाख ५० हजार बजेट विनियोजन गरेको छ । यसमा कुल बजेटको २३ प्रतिशत् रहेको छ । शिक्षा क्षेत्रमा १ अर्ब ३४ करोड रुपैयाँ खर्च गर्ने नगरपाकिकाको बजेट बक्तब्यमा उल्लेख छ ।
सम्पत्ति करमा पुरानै दर
महानगरपालिकाले सम्पत्ति करमा नयाँ दर कायम गरेको छ । महानगरपालिकाले ०.०१० प्रतिशत्देखि ०.६००० प्रतिशतसम्म सम्पत्ति कर लगाउने भएको छ ।
महानगरपालिकाले भवन र जग्गाको मूल्यांकनका आधारमा सम्पत्ति कर लगाउने छ । पहिलो सुरुको १ करोड रुपैयाँसम्मको भवन र जग्गाको मूल्यांकनमा ०.०१० प्रतिशतका दरले सम्पत्ति कर १ हजार रुपैयाँ लाग्नेछ ।
त्यसपछिको २ करोड रुपैयाँसम्मको सम्पत्तिमा १ करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.०१० प्रतिशतले कर लाग्छ भने बाँकी १ करोड रुपैयाँमा ०.०१५ प्रतिशतका दरले २५ सय रुपैयाँ कर लाग्छ ।
त्यसपछि ३ करोड रुपैयाँसम्मको सम्पत्तिमा ४५ सय रुपैयाँ कर लाग्छ । भने ५ करोड रुपैयाँसम्मको सम्पत्तिमा ८५ सय रुपैयाँ कर लाग्छ ।
त्यस्तै, ५ करोड रुपैयाँसम्मकोमा १४ हजार ५०० रुपैयाँ, ६ करोड रुपैयाँसम्मको सम्पत्तिमा २४ हजार ५०० रुपैयाँ, ८ करोड रुपैयाँको सम्पत्तिमा ८४ हजार ५०० रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा १ लाख ७४ हजार रुपैयाँ सम्पत्ति कर लाग्छ । त्यस्तै, १० करोड रुपैयाँभन्दा बढी सम्पत्तिमा सम्पत्तिका ०.६०० प्रतिशतका दरले सम्पत्ति कर लाग्छ ।
प्रतिक्रिया दिनुहोस