
काठमाडौं । भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्। आपूर्तिमा समस्या भएपछि चैत ३ देखि नेपालले खोप अभियान स्थगित गरेको छ।
पहिलो चरणअन्तर्गत फागुन १० सम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायत गरी ४ लाख ३८ हजारलाई खोप लगाइएको थियो। उनीहरूलाई सरकारले वैशाख ७ देखि ११ सम्म दोस्रो डोज उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि केही खोप मौज्दात छ। त्यस्तै फागुन २३ पछि चैत २ सम्म ६५ वर्ष उमेर माथिका वृद्धवृद्धा र सुरुको चरणमा छुटेका जोखिम समूहका सहित १३ लाखलाई खोपको पहिलो डोज दिइएको छ। खोप लगाइएको छ।
पहिलो डोज लगाएको ८ देखि १२ सातामा अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युटले बनाएको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउनुपर्ने प्रावधान अन्तर्गत यो समूहलाई जेठको पहिलो सातादेखि दोस्रो डोज उपलब्ध गराउने सरकारी योजना छ। तर अपेक्षा गरिएको मितिमा खोप उपलब्ध नहुँदा यो समयसारिणी प्रभावित हुन देखिएको छ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध ३ लाख ४८ हजार डोज खोप गरी नेपालले साढे २३ लाख खोप प्राप्त गसिसकेको छ। मे महिनासम्म कोभ्याक्सले झण्डै १९ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने अपेक्षा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस