
पश्चिम राष्ट्रहरुसंगको सम्बन्ध निकै तिक्ततापुर्ण बनेपछि चीन खाडी देशहरुसंगको सम्बन्ध सुधार गर्न लागिपरेको छ । बीबीसी हिन्दीका अनुसार यहि उदेश्य अनुरुप खाडी सहयोग परिषद (जीसीसी)का महासचिव नायफ बीन फल्लाह अल हज्राफ र चिनियाँ विदेशमन्त्री वाङबिच छलफल भएको छ ।
साउदी अरेबियाको राजधानी रियादमा भएको यो बैठकपछि जिसीसीले चीनलाई राम्रो मित्र भनेर वर्णन गरेको छ । चीनका राज्य सल्लाहकार र परराष्ट्रमन्त्रीले बैठकपछि जारी विज्ञप्तीमा भनेका छन्–क्षेत्रिय सुरक्षामा चीन रचनात्मक भूमिका खेल्न तयार छ ।
यस अवसरमा दुबै पक्षले द्धिपक्षिय सम्बन्ध सुधार गर्ने, आर्थिक र सुरक्षा क्षेत्रमा अझ राम्रो सम्बन्ध निर्माण गर्ने विषयमा छलफल भएको जनाइएको छ । साथै, जीसीसी पनि चीनसंगको स्थायित्व कायम गर्न र आपसी सहयोगलाई अझ मजबुत बनाउन तयार रहेको बीबीसीले उल्लेख गरेको छ ।
चीनका परराष्ट्रमन्त्री हाल साउदी अरेबिया, टर्की, इरान, बहराइन, युएईको यात्रा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस