aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कोरोना कहर

लकडाउनको हल्लाबाट व्यवसायी चिन्तित, पुर्व गभर्नर भन्छन्- त्यस्तो सोच्नु हुँदैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ चैत्र २०७७
लकडाउनको हल्लाबाट व्यवसायी चिन्तित, पुर्व गभर्नर भन्छन्- त्यस्तो सोच्नु हुँदैन

काठमाडौं । गत वर्ष चैत्र ११ गते कोरोना महामारी फैलिन नदिने भन्दै सरकारले लकडाउन घोषणा गर्‍यो । लगभग ६ महिना मुलुकभरका सबै उद्योग व्यापार व्यवसाय बन्द रहे । जसको कारण देशले अर्बौँको क्षति बेहोर्नु पर्‍यो । 

अहिले फेरि कोरोना सङ्क्रमणको दोस्रो लहर फैलने आशङ्का जनस्वास्थ्य विदहरुले गरिरहेका छन् । कतै फेरि सरकारले सङ्क्रमण रोक्ने नाममा वर्ष दिन अघि झैँ लकडाउनको घोषणा गर्ने त होइन भन्ने त्रास व्याप्त छ । यदि सरकारले स्वास्थ्य विदहरुको मात्रै कुरा सुनेर लकडाउन जस्ता घातक निर्णय गर्‍यो भने मुलुकको अर्थतन्त्र फेरि कहिले उठ्न नसक्नेगरि थला पर्छ भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । 

फेरि लकडाउन हुने हल्लाले आम सर्वसाधारण समेत चिन्तित बनाइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि लकडाउनबारे सोच्न पनि नहुने बताएका छन् । उनी भन्छन्, ‘आजको दिनमा फेरि पनि लकडाउन गर्ने विषय कसैले कल्पना समेत गर्न हुँदैन । किनकि यदि अब पनि लकडाउन भयो भने नेपालका सबै उद्योग धन्दाहरू सधैँका लागि बन्द हुन्छन् ।’

हालै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई पेस गर्दै गोल्छा भन्छन्,‘लकडाउनका बेला मुलुकका ७३ प्रतिशत उद्योग धन्दाहरू पुर्णरुपमा बन्द रहे । जसमा साना, लघु र मझौला उद्योगहरू परे । तीमध्ये पनि झन्डै ११ प्रतिशत त सधैँका लागि बन्द भए ।’ त्यसैले पनि भर्खर तङ्ग्रिन लागेको उद्योग धन्दा र व्यवसायलाई आघात पुग्ने कुनै पनि निर्णय सरकारले गर्न नहुने गोल्छा बताउँछन् । 

गोल्छाले सबैभन्दा बढी चिन्ता पर्यटन क्षेत्रको गरेका छन् । उनी भन्छन्, ‘कोरोना महामारीले सर्वाधिक क्षति पुर्‍याएको नेपालको पर्यटन क्षेत्र आन्तरिक पर्यटनका कारण केही राहत महसुस गर्ने अवस्थामा पुगेको छ । यदि फेरि कोरोनाको सन्त्रास बढ्यो भने पर्यटन व्यवसाय पूर्ण जागृत हुन नसक्ने अवस्थामा पुग्छ ।’ 

सरकारले लकडाउन जस्ता आर्थिक क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने विधिको सट्टा विश्व स्वास्थ्य संगठनले जारी गरेका स्वास्थ्य मापदण्डहरूको कडाइका साथ परिपालना गराउने तर्फ ध्यान दिनुपर्नेमा गोल्छा जोड दिन्छन् । 

त्यस्तै, चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मल्होत्रा पनि लकडाउनको विषयमा कुनै चर्चा पचिर्चा नै गर्न नहुने बताउँछन् । उनी भन्छन्, ‘लकडाउन हुनै हुँदैन । गर्नै मिल्दैन ।’ व्यापारीहरूको हालको अवस्थालाई प्रस्ट्याउँदै मल्होत्रा थप्छन्, ‘अहिले पो बैंकको व्याज केही कम छ र व्यापारीहरू बोल्न सक्ने अवस्थामा छन् । यदि लकडाउन हुने हो र केही दिन मात्र किस्ता बुझाउन नसक्ने हो भने सबैको बेहाल हुन्छ । हामी कहिले पनि माथि उठ्न सक्दैनौँ ।’ 

विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि सरकारले राहत प्याकेज ल्याउने, घोषण गर्ने र लकडाउन जस्ता महामारी फैलन रोक्ने कदम चाल्ने हो भने त्यो अझ घातक हुने उनी बताउँछन् । ‘नेपाल सरकारले पैसा बाढ्न सक्दैन र बाढ्न हुँदैन । बरु व्यापार व्यवसाय सुचारु राख्ने कुरा नै ध्यान दिनुपर्छ ।’ उनले भने ।  

तर, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल भने सरकारले कोरोनाका कारण मारमा परेको उद्योग धन्दा व्यापार व्यवसायलाई माथि उठाउन तत्कालै २५/३० अर्बको राहत प्याकेज घोषणा गर्नु पर्ने बताउँछन् । नेपालको हालको आर्थिक स्थितिको आधारबारे व्याख्या गर्दै उनले भने,‘नेपालको अर्थतन्त्र बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ३७ सय अर्ब कर्जाका कारण चलायमान छ । यस्तो कर्जा लिने भनेका उद्योगी व्यापारी नै हुन् । यदि उनीहरूको व्यापार व्यवसाय डुब्यो भने अर्थतन्त्र नै कोल्याब्स हुन्छ ।’  

आफू गभर्नर रहेका बेला पुँजी वृद्धिको योजनाबाट बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह गर्ने क्षमता १३ सय अर्बबाट ३२ सय अर्बमा पुर्‍याएको स्मरण गर्दै उनले भने, ‘मेरो कार्यकालमा विकास भएको यही क्षमताको आधारमा टेकेर आज बैंकहरुले ३७ सय अर्ब लगानी गर्न सकेका हुन् ।’ आपनो दाबीलाई पुष्टि गर्न नेपाल अगाडी थप्छन्, ‘मेरो कार्यकालमा पाँच प्रधानमन्त्री र पाँच अर्थमन्त्री फेरिए । तर, कसैले पनि पुँजीगत खर्च वृद्धि गर्न सकेनन् । तथापि कुल ग्रहास्थ उत्पादन(जिडीपी) भने ६ प्रतिशतको हाराहारीमा वृद्धि भइरह्यो । त्यो अरू कुनै कारणले नभएर बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कै कारण सम्भव भएको हो ।’ 

उद्योगी व्यापारी झैँ फेरि लकडाउन गर्ने विषयबारे कल्पना नै गर्न नसकिने कुरामा पूर्व गभर्नर डा. नेपालले पनि जोड दिए । ‘यसबारे चर्चा नगरौँ, नसोचौँ, नसम्झौँ । यदि हामीले फेरि लकडाउन हुनसक्ने कुरा मात्रै गर्‍यो भने पनि उद्योगी व्यापारीहरूको मनोबल गिर्छ । अर्थतन्त्र चौपट हुन्छ ।’ उनले थपे, ‘त्यसैले लकडाउनको हल्ला नगरौँ । व्यापारीहरू नतर्साऔँ । तिनीहरूको व्यापार डुब्यो भने बैंक डुब्छ । नेपालको अर्थतन्त्रको आधार नै भत्किन्छ ।’ 

   

प्रतिक्रिया दिनुहोस