
काठमाडौं । पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । केहि हप्ता अघिदेखि मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः ३०मा निधन भएको नर्भिक अस्पतालका कर्मचारी सोमन बास्तोलाले जानकारी दिएका छन ।
नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा राजीव झाका अनुसार जोशीलाई विहानसम्म बचाउन सकिन्छ कि भनेर अस्पतालको सबै टिमले प्रयास गरेको बताए । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिक पठाएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
जोशी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट विजयी भएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए । उनकै पहलमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो । मन्त्री हुँदा उनले आफ्नै पार्टीको सरकारले बन्द गरेका उद्योग खोलाउने काम समेत सक्रिय रहेका थिए ।
जोशी उद्योगमन्त्री भएका बेलामा वर्षौदेखि बन्द रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो।
प्रतिक्रिया दिनुहोस