aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भोलिसम्ममा एसईई नतिजा प्रकाशन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
भोलिसम्ममा एसईई नतिजा प्रकाशन गरिने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनकालागि अन्तिम तयारी भइरहेको जनाएको छ । नतिजा प्रकाशनकालागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । 

कार्यालयले बुधबारकालागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अधिकारीले बताए । उनका अनुसार ढिलोमा विहीबारसम्ममा नतिजा प्रकाशन हुनेछ । बोर्डले गएका वर्षहरुभन्दा करिब एक साता ढिला गरी नतिजा प्रकाशन गर्न लागेको हो । 

विगतमा जेठ मसान्तदेखि असार एक÷दुई गतेभित्रै एसइईको नतिजा प्रकाशन हुने गरेको थियो । यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर एकैसाथ १० चैतदेखि २१ सम्म परीक्षा सन्चालन भएको थियो । प्रदेश–२ मा भने २२ देखि २९ चैत्रसम्म परीक्षा सञ्चालन गरेको थियो । 

यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस