aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

ओली आफू कुनै पनि निर्णयबाट पछाडि नहट्ने अडान

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, १५ चैत्र २०७७
ओली आफू कुनै पनि निर्णयबाट पछाडि नहट्ने अडान

काठमाडौं । एमाले संसदीय दलको बैठकमा अन्ततः नेपाल–खनाल पक्षका सांसद सहभागी भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा हुने बैठकमा नजाने अडान राख्दै आएकामा शुक्रबार नेपाल र भीम रावलबाहेकले उपस्थिति जनाएका हुन्। उनीहरूले पार्टीलाई पूर्ववत् अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव दिएका थिए।

तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि निर्णयबाट पछाडि नहट्ने अडान लिएका छन्। ‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौं’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘व्यक्तिगत रूपमा आलोचना र गुुनासा सुन्न तयार छौं। त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस्। तर, गुटगत हिसाबले छलफल र कुराकानी हुँदैन।’

दलका नेतासमेत रहेका ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान सुनाए। ‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्मत् भएका छन्’, ओलीको भनाइ  उद्धृत गर्दै मुख्य सचेतक भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन।’

ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रस्ट पारेका छन्। आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नरहेको दाबी गरेको भट्टराईले बताए। 

प्रतिक्रिया दिनुहोस