
विश्वमा अमेरिकी प्रभुत्व कायम राख्ने चाहना अनुरूप इरान लगायतका मुलुकहरूमा नाकाबन्दी गर्ने पश्चिमी मुलुकहरू र विश्व साम्राज्यवाद विरुद्ध आर्थिक स्वाधीनताको लडाइँ गर्दै आएका देशहरू बिच फेरी एक पटक भीषण द्वन्द्व चर्कने सङ्केत देखिएको छ । अमेरिकाले वर्षौँदेखि इरान र भेनेजुएला माथि एकतर्फी रूपमा बलजफती तेल बिक्रीमा प्रतिबन्ध लगाउँदै आएकोमा हालै इरान र चीन बिच भएको एक सम्झौताले त्यसको औचित्य अन्त्य गरेसँगै यस्तो सम्भावना बढेको हो ।
त्यसो त चीन र रुसले यी मुलुकको अर्थतन्त्र नै तहसनहस पार्ने उद्देश्यले अमेरिकाले लगाएको प्रतिबन्धको विरोध गर्दै आएका थिए । रुसले आफ्नै मुद्रामा भुक्तानी गर्ने गरी इरानसँग ठुलो मात्रामा खनिज तेल खरिद गर्ने सम्झौता केही वर्ष अघि नै गरिसकेको समेत छ । अहिले भने त्यस्तै अर्को सम्झौता चीन र इरान बिच सम्पन्न भएको हो ।
चीन र रुसले यी मुलुकहरूबाट कच्चा तेल खरिद गरेर त्राण धान्ने काम गर्दै आएकोमा गएको साता मात्रै अमेरिका र उसका युरोपेली मतियारहरूले चीन विरुद्ध समेत अनेकौँ प्रतिबन्ध लगाएपछि शनिवार इरान र चीनले रणनीतिक महत्त्वको २५ वर्षे सम्झौतामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । सो रिपोर्टमा लेखिएको छ, ‘अमेरिकी प्रतिबन्ध झेलिरहेका दुई मुलुक चीन र इरानले आपसी सहयोगलाई अझ मजबुत पार्ने र लामो समय सम्म आर्थिक तथा राजनीतिक गठबन्धन कायम गर्ने एक २५ वर्षे सम्झौतामा हस्ताक्षर भएको छ।’
यो सम्झौताले चीनको लागी आफ्नो महत्त्वाकाङ्क्षी परियोजना बिआरआईलाई सहजै युरेसियासम्म पुर्याउने ढोका खोलिदिएको कारण अमेरिका र पश्चिमा मुलुकहरूको लागी ठुलो टाउको दुखाइको विषय बनेको छ । यसैबाट आत्तिएर हुनसक्छ अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो वाईडेन बेलायती प्रधानमन्त्रीलाई फोन गरेर आफूहरू मिलेर चीनको बेल्ट एण्ड रोड परियोजना जस्तै अर्को कार्यक्रम अघि सार्नुपर्ने भन्दै प्रस्ताव राखेका छन् ।
अब चीनको लागि आफ्नो व्यापार र प्रभाव बिस्तार गर्ने ‘सुपर हाइवे’ नै खुलेको टिप्पणी गर्न थालिएको छ । झट्ट हेर्दा अमेरिका र चीनबिच केही साता अघि अलस्कामा सम्पन्न वार्ताले फलदायी निष्कर्ष ननिकाले पछि त्यसको प्रतिक्रिया स्वरूप अमेरिकाले चीन विरुद्ध लगाएको प्रतिबन्धको जवाफमा यस्तो सम्झौता भएजस्तो देखिए पनि यो सम्भव तुल्याउन बेइजिङ र तेहरानका अधिकारीहरूले निकै लामो र घनिभूत छलफल केही वर्ष देखी नै गर्दै आएका थिए ।
अमेरिकी अखबार न्यु योर्क टाइम्सका अनुसार यो सम्झौता अनुसार चीनले इरानको भौतिक पूर्वाधार विकासको लागि ४०० बिलियन अमेरिकी डलर बराबरीको सहयोग गर्ने छ । त्यसको बदलामा चीनले इरानबाट कच्चा तेल लैजाने छ । एक प्रकारले भन्दा यो त्यस्तो खरिद सम्झौता हो जसले चीन र इरान बिचको व्यापारलाई नयाँ उचाइमा पुराएको छ । उता अमेरिका र अन्य पश्चिमी मुलुकहरूलाई भने यो सम्झौताले नराम्रो धक्का पुराएको छ ।
प्रतिक्रिया दिनुहोस