aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

भारतबाट आएका विना चेकजाँच सार्वजनिक यातायात चढेर सिधै घर

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, १६ चैत्र २०७७
भारतबाट आएका विना चेकजाँच सार्वजनिक यातायात चढेर सिधै घर

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन् । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पाजेटिभ देखियो । तर, कोरोनाभाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो ।

भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजेटिभ देखियो । उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए । प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन् । ‘अहिले यहीँनेर थिए । सायद घर गए होलान्,’ उनका दाजुले भने ।

सुर्खेतको लेकबेसी–४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो । ज्वरो बढी नरहेको भन्दै उनलाई पाँचवटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए । नाकाबाट अरु पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए । उनले सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागे ।

यस्तै, अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखियो । उनलाई पनि पाँचवटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो । उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे । उनले अछामका लागि बसको टिकट बनाएर घर लागे ।

प्रतिक्रिया दिनुहोस