aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कोरोना संक्रमणको दोस्रो लहर आउनसक्ने त्रास बढ्यो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १६ चैत्र २०७७
कोरोना संक्रमणको दोस्रो लहर आउनसक्ने त्रास बढ्यो

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन ।

फागु मनाउने क्रममा काठमाडौंका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना सङ्क्रमित बढ्न सक्ने चेतावनी दिनुभयो । डा. अधिकारीले भारतमा दोस्रो लहर देखिएको भन्दै नेपाल पनि त्यत्तिकै जोखिममा रहेको जानकारी दिए । उनले भारतसँग नेपालको खुला सीमा रहेकाले पनि मानिस सामान्य रूपमा आवतजावत गर्नसक्ने भन्दै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराए । 

डा. अधिकारीले भने, “पछिल्ला दिनमा ५० को सङ्ख्यामा देखिएको कोरोना बढेर १८० सम्म पुगेको छ, भोलिका दिनमा दैनिक एक हजारसम्म पुग्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।” डा। अधिकारीले स्वास्थ्य मन्त्रालयले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गर्ने तर त्यसको नियमक निकाय गृह प्रशासन भएकाले भीडभाड नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको नभएको जानकारी गराए ।  

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले होलीका नाममा भएको भीडभाडले सङ्क्रमण बढ्न सक्ने खतराका रूपमा देखापर्ने बताए । डा. पुनले सुपर स्पे्रडर (धेरै व्यक्तिलाई सङ्क्रमित गराउन सक्ने व्यक्ति) उक्त होलीको कार्यक्रममा भएको भए त्यसले अन्य सयौँ व्यक्तिलाई कोरोना फैलाउन सक्ने सम्भावना रहेको जानकारी पनि दिए । 

सरुवा रोग विशेषज्ञ डा. पुनले भारतमा दैनिक ६० हजारभन्दा बढी सङ्क्रमित देखिनुमा सुपर स्प्रेडरको हात रहेको भन्दै भारतमा दोस्रो लहर आएको दाबी गर्नुभयो । नेपालमा अहिले नै दोस्रो लहर भन्न मिल्ने अवस्था नरहेको दाबी गर्दै भोलिका दिनमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिए ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिनहुँ कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण बढ्दै जाँदा थप चिन्ता भएको भन्दै मानिसले कोरोना सङ्क्रमणलााई सामान्य रूपमा लिनु उचित नभएको बताए।

प्रतिक्रिया दिनुहोस