aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

शेयर बजारमा वाणिज्य बैंकको अंश ३८.३९ प्रतिशत

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १६ चैत्र २०७७
शेयर बजारमा वाणिज्य बैंकको अंश ३८.३९ प्रतिशत

काठमाडौं । धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरणमा वाणिज्य बैंकहरूको अंश ३८ दशमलव ३९ प्रतिशत रहेको छ । चैत १३ गतेसम्म सूचीकृत २६ वाणिज्य बैंकहरूको कुल शेयरको मूल्य उक्त अनुपातमा कायम भएको हो ।

चैत १३ गतेसम्म धितोपत्र दोस्रो बजारको आकार अर्थात् कुल बजार पूँजीकरण ३५ खर्ब २० अर्ब २२ करोड ७० लाख ५४ हजार रहेको छ । उक्त दिनसम्म २६ वाणिज्य बैंकहरूको सूचीकृत शेयरको कुल मूल्य १३ खर्ब ५१ अर्ब ३७ करोड ९ लाख ४२ हजार रहेको छ । यी बैंकहरूको धितोपत्र दोस्रो बजारमा २ अर्ब ८८ करोड ७ लाख ९१ हजार ८६२ कित्ता शेयर सूचीकृत रहेको छ ।

बजारमा कम्पनीहरूको शेयरमूल्य माग र आपूर्तिका कारण घटबढ हुने गर्छ । हाल वाणिज्य बैंकहरूमध्ये नबिल बैंकको शेयरमूल्य सबैभन्दा बढी छ । चैत १३ गते यस बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता १ हजार २२७ कायम भएको छ । नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको छ । बैंकको कुल शेयरको मूल्य अर्थात् कुल बजार पूँजीकरण १ खर्ब ६५ अर्ब ४० करोड १५ लाख ४३ हजार रहेको छ ।

नबिल बैंकले शेयरधनीहरूका लागि आकर्षक लाभांश दिँदै आएकाले पनि यस बैंकको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी रहेको हो । यस वर्ष वाणिज्य बैंकहरूमध्य सबैभन्दा बढी ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको छ । यस बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत १ दशमलव ७६ प्रतिशत नगद लाभांश दिएको हो । विगतका वर्षहरूमा पनि नबिल बैंकले अन्य वाणिज्य बैंकहरूको तुलनामा आकर्षक लाभांश वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस