aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

स्वरोजगार युवालाई निर्ब्याजी ऋण

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, १६ चैत्र २०७७
स्वरोजगार युवालाई निर्ब्याजी ऋण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत स्वरोजगार युवालाई ३ लाख रुपैयाँ निर्ब्याजी ऋणको व्यवस्था गरेको छ । नगरका युवालाई उद्यमशीलता वृद्धि गरी स्वरोजगारतर्फ उन्मुख गराउन नगरपालिकाले निर्ब्याजी ऋण दिने कार्यक्रम थालेको हो ।

नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरभित्रका तीन सय युवालाई निर्ब्याजी ३ लाख रुपैयाँ कर्जा दिने सम्झौता भइसकेको नगर प्रमुख सोमप्रसाद मिश्रले जनाए ।

स्वरोजगारका लागि राष्ट्रिय युवा परिषद्, नगरपालिका र बैंकले सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि एक साता उद्यमशीलता तथा वित्तीय साक्षरता तालिमसमेत दिइसकेका छन् । नगरपालिकाले नगरभित्रबाट आवेदन परेका १ हजार २८ युवाबाट तीन सय जना छानेर तालिममा सहभागी गराएको थियो । उनीहरूलाई नेपाल बैंकले व्यावसायिक प्रस्तावका आधारमा र नगरपालिकाको जमानीमा ३ लाख रुपैयाँका दरले कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले बताए ।

नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्‍याएर बैंकले ऋण उपलब्ध गराउने नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले जानकारी दिए । चाँगुनारायण नगरले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका–२०७७’ तयार गरेर कार्यक्रम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस