aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्यो (सूचनासहित )

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्यो  (सूचनासहित )

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स दिन आवेदन खुला गरेको छ । २० वर्ष पछि विभागले आगामी वैशाख ५ गतेसम्मको दरखास्त दिने अवधि नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अघि बढाएको हो । भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने विभागका उपमहानिर्देशक भूमीराम शर्माले जानकारी दिए ।

तीन हजार रुपैयाँ तिरेर आवश्यक काजजात अपलोड गरेर अनलाइनमार्फत दरखास्त दिन विभागले सबै इच्छुक उम्मेदवारलाई आव्हान गरेको छ । भन्सार एजेन्ट बन्नका लागि २१ वर्ष उमेर पुरा गरेको  भन्सार नियमावली २०६४ को अनुस्ची ५ मा उल्लेख भएबमोजिम दरखास्त दिनुपर्नेछ । लिखत र अन्तवार्ताअनुसार उम्मेदवार छनोट गर्ने विभागले चैत १५ गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ । विभागले नयाँ लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि समेत तयार गरिसकेको छ । 

विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारीका रोकिएको थियो ।  विभागले भन्सार एजेन्टको परीक्षाका लागि पाठ्यक्रम, कार्यविधि, परीक्षा सञ्चालन दिग्दर्शनहरू गरिसकेको छ । लाइसेन्स परीक्षामा दशौँ हजार परीक्षार्थी सहभागी हुनसक्ने आँकलन विभागले गरेको छ । ८ सय जनाजति भन्सार एजेन्ट भए देशभरका लागि पर्याप्त हुने भन्सार विभागले आँकलन छ । त्यसमध्ये अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । 

के हो भन्सार एजेन्ट ?

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्याउँछ ।

क्रसबोर्डर तस्करी रोक्न, आयातित वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, वौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्नसमेत यस्तो एजेन्टको भूमिका हुन्छ ।

त्यस्तो एजेन्ट बन्न सरकारबाट लाइसेन्स लिनैपर्छ । एजेन्टको रुपमा नियुक्त हुने व्यक्तिले गर्ने हरेक काम निकासीकर्ता वा आयातकर्ताले गरेसरह नै हुने व्यवस्था भन्सार ऐनले गरेको छ । तर, एजेन्टले नियतवश गरेको गल्तीको भागिदार भने एजेन्ट नै हुने व्यवस्था ऐनले गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस