aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मोदीले दिएको सय करोड सहयोग गुम्ने खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
मोदीले दिएको सय करोड सहयोग गुम्ने खतरा

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रुपमा विकास गर्न एक सय करोड रुपैयाँ स्वेच्छिक अनुदानको घोषणा गरे। उक्त घोषणा भएको करिब १३ महिना बितिसक्यो।

यो अवधिमा मोदी भारतमा दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री निर्वाचित भइसके। चुनावी भाषणका क्रममा मोदीले बोलेअनुसार हुने हो भने उनी पुनः जनकपुर भ्रमण गर्ने समयतालिका पनि निकट भविष्यमै तय होला।

तर, उनले १३ महिनाअघि भ्रमण क्रममा जनकपुर नगरीलाई दिने भनेको एक सय करोड रुपैयाँ अझै यहाँ आउन सकेको छैन। नेपाल भ्रमणका क्रममा मोदी २०७५ वैशाख २८ गते भारतबाट सोझै जनकपुर आएका थिए। जनकपुरको ऐतिहासिक रंगभूमि मैदान (बाह्रबिघा) मा जनकपुरधाम उपमहानगरपालिकाले मोदीको नागरिक अभिनन्दन समारोह गर्‍यो। स्वागतका लागि प्रदेश सरकार तन, मन र धनले खटेको थियो।

अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले जानकी मातालाई एक सय करोड रुपैयाँ भेटीस्वरुप प्रदान गरेको बताएका थिए। सम्बन्धित निकायले उपयुक्त योजना बनाएर पेस गरेपछि उक्त रकम भारत सरकारले उपलब्ध गराउने आश्वासन भारतीय पक्षले दिएको थियो । 

तर घोषणाको वर्ष दिन बितिसक्दासम्म उक्त रकम खर्च गर्ने निकायसमेत प्रष्ट हुन सकेको छैन। जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा मोदीले दिने भनेको बजेट ल्याउन नसकिएको हो। दुवै निकायले आ–आफ्नै तालमा उक्त रकम हात पार्न दौडधुप थालेपछि सहयोग रकम नै गुम्ने खतरा देखिएको जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षले बताए। नागरिक दैनिकमा समाचार छ । 
 

प्रतिक्रिया दिनुहोस