काठमाडौं । ६ महिनाअघि इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि अवरुद्ध हुन पुगेको मेलम्ची खानेपानी आयोजना निर्माणको काम पुनः अगाडि बढाइएको छ । आयोजनाको बाँकी रहेका कामहरू सुरुङको फिनिसिङ, मुहान (हेडवक्र्स) को काम सम्पन्न गर्न अहिले ठेकेदार कम्पनीहरूको छनोट शुरू भएको छ । फिनिसिङको काम सम्पन्न गर्न ठेकेदार कम्पनीको छनोटका लागि खोलिएको बोलपत्रमा परेका आवेदन गत असार २ मा खोलेर प्राविधिक मूल्यांकनका क्रममा छन् ।
त्यस्तै, सुरुङसँगै आयोजनाको मुहानको काम (हेडवक्र्स) का लागि आह्वान गरिएको बोलपत्र असार १६ मा खोली प्राविधिक मूल्यांकन शुरू हुनेछ । सुरुङकै जस्तो प्रक्रिया सम्पन्न गरी हेडवक्र्सको निर्माण पनि प्राविधिक मूल्यांकन शुरू भएको करीब २ महिनामा प्रारम्भ हुने समितिले जनाएको छ ।
‘करीब १ सातामा प्राविधिक मूल्यांकन सकी वित्तीय मूल्यांकन शुरू हुनेछ,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले भने, ‘मूल्यांकन प्रतिवेदन अर्को साता एडीबीलाई बुझाइन्छ अनि एडीबीले स्वीकृति दिए आशयपत्र जारी गर्ने, बैंक ग्यारेन्टी राख्न लगाउने, वित्तीय मूल्यांकन लगायत काम सम्पन्न गरी आगामी २ महिनामा काम प्रारम्भ गर्न सकिन्छ ।’
२०७० असार ३१ मा आयोजना निर्माणको जिम्मा इटालीको ठेकेदार कम्पनी ‘कोअपरेटिभा मुराटोरी ई सिमेन्टिस्टी (सीएमसी)’ ले पाएको थियो । काम थालेको १ हजार ९५ दिन अर्थात् २०७३ भदौ २६ मा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, निर्धारित मितिभन्दा ८२८ दिनपछि २०७५ मङ्सिर २९ मा करीब ८५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा सीएमसी काम छाडेर हिँडेको थियो ।
आर्थिक रूपमा समेत टाट पल्टिएको सीएमसीले कार्यथलो छाडेको डेढ महिनापछि माघ २१ मा आयोजना कार्यालयले सीएमसीसँगको ठेक्का रद्द गर्यो । यही अवस्थामा फागुन २ मा संघीय संसद्को अर्थ समिति बैठकले लगानी नबढ्ने गरी आयोजनाको बाँकी काम चालू आर्थिक वर्ष २०७५र७६ भित्रै सम्पन्न गर्न संघीय सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको थियो ।
त्यसपछि बाँकी कामलाई १० प्याकेजमा विभाजन गरी सुरुङ र हेडवक्र्सका काम सम्पन्न गर्न बोलपत्र आह्वान गरिएको हो । एशियाली विकास बैंक ९एडीबी०को आर्थिक सहयोग रहेको उक्त आयोजनाको ठेकेदार छनोट एडीबीकै नियम अनुसार गर्नुपर्ने सम्झौता छ । त्यसैले, बाँकी काम नेपालभित्रैका कम्पनीहरूले गर्न सक्ने भए पनि सम्झौता अनुसार ‘ग्लोबल टेन्डर’ आह्वान गरिएको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस