aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नेता नेपाल अब के गर्छन् ?

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, १७ चैत्र २०७७
नेता नेपाल अब के गर्छन् ?

काठमाडौं । एमाले नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा लामो छलफल गरेर कोटेश्वरस्थित एक व्यापारीको घरबाट निस्किँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनलाई कारबाही गरेको पत्रमा सही गरीवरी नेपाल र बंगलादेशको फुटबल हेर्न रंगशालातिर लागेका थिए ।

निलम्बनमा परेसँगै नेपालका अगाडि दुइटा विकल्प छन्– एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने । स्पष्टीकरण सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालको गतिविधि यी दुवै विकल्पमा केन्द्रित छ । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरूसम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन । 

 ‘अहिलेसम्म माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिन्छ र नेकपाको एकतालाई नमान्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन्छ भन्ने निश्चित भइसक्यो,’ नेपालसम्बद्ध स्रोतले भन्यो, ‘तर ओलीलाई समर्थन फिर्ता लिए पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ या हुँदैन भन्ने निश्चित भएको छैन, माधवजीहरूको अबको बाटो त्यसपछि थप क्लियर होला ।’ ओली र नेपालको सहयात्रा भने पछिल्लो घटनाक्रमले विसर्जनोन्मुख नै देखिन्छ, यसको तात्कालिक असर नेपाललाई परे पनि दीर्घकालीन अप्ठ्यारो एमालेलाई नै हुनेछ ।

ओलीले सोमबार पाँचबुँदे आरोपसहित नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेसँगै अदालतले एक ठाउँमा ल्याइदिएको एमाले नेताहरू आफ्नै व्यवहारका कारण थप तितरबितर बन्ने स्थिति आएको हो । ओलीले निलम्बन गरिएको पत्रमा आपराधिक मनोवृत्ति पुष्टि भएको भन्दै नेपाल र रावलमाथि संगीन आरोपसमेत लगाएका छन् । 

‘पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुटभेला तथा पार्टीलाई कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने तथा निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ ओलीले निलम्बन पत्रमा लेखेका छन्, ‘आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति थप प्रस्ट रूपमा पुष्टि भएको छ ।’

प्रतिक्रिया दिनुहोस