aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
निर्णय गर्न नसक्दा ६० करोड रुपैयाँ आउने जहाज कौडीको भाउमा, निगमको उडानयोग्य बोइङ कवाडीमा खेर

६० करोड रुपैयाँ आउने जहाज कौडीको भाउमा, निगमको उडानयोग्य बोइङ कवाडीमा जाँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
६० करोड रुपैयाँ आउने जहाज कौडीको भाउमा, निगमको उडानयोग्य बोइङ कवाडीमा जाँदै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निर्णय गर्न नसक्दा ६० करोड रुपैयाँ आउने १९० सिट क्षमताको अमेरिकी जहाज निर्माता कम्पनीले बनाएको बोइङको बी ७५७ नामक एक जहाज कौडीको भाउमा मिल्काउनुपर्ने भएको छ । निगमले एयरवसको जहाज भित्र्याउन थालेको र एउटै प्रकारका जहाज उडाउदा पाइलट र इन्जिनियर व्यवस्थापन गर्न सहज हुने तथा संञ्चालन खर्च पनि कम लाग्ने भन्दै बोइङ विस्थापनको निर्णय गरेको हो । तर, निगमले ३० वर्ष अगाडि भित्र्याएको दुईवटा बोइङमध्ये एउटा बिक्री गरेको एक वर्ष भैसकेको भएपनि अर्को बिक्री गर्न सकेको छैन् । जहाज बेच्ने भनेर निगमले उडानमा नल्याइ थन्काएको पनि ६ महिना भैसक्यो तर जहाज बिक्रीको अन्तिम निर्णय अझै भएको छैन । 

बाइडबडी जहाज खरिद अनियमितता काण्डमा मुछिएको निगम हाल अख्तियार दुरुपयोग आयोगमा छानविनको दायरामा छ । संसदीय समितिले वाइडबडी जहाज खरिदमा अनियमितता भएको ठहर गरिसकेको भएपनि यसको पूर्ण छानविन प्रतिवेदन नआएका कारण र निर्णय गर्दा फसिने डरल निगम व्यवस्थापनले बोइङ जहाजलाई बिक्री गर्न सकेको छैन् । जहाज उडानमा पनि नभएको र बिक्री गर्न पनि नपाएको कारण निगमको जहाजको ६० करोड रुपैयाँ आउने भएपनि थन्काएर राखिएको, उडान आवर सकिएको र ग्राउन्डेड गर्दा जहाजको गतिह्रास हुँदै जाने भएकोले कवाडीमा फाल्नुपर्ने अवस्था आएको छ । 

जहाज बिक्री गर्ने विषयमा पर्यटन मन्त्रालयले आफैं निर्णय गर्नु भनेको भएपनि निगमले निर्णय गर्न सकेको छैन् । निगगमले फेरि जहाज खरिदको निर्णय गरिदिन पर्यटन मन्त्रालयसमक्ष प्रस्ताव पेश गरेको निगमले जानकारी दिएको छ ।  यसअघि निगमले भएकै बोइङको बी ७५७ एसीए जहाज कवाडीमा बेचिसकेको भएपनि जहाज किन्ने कम्पनी बीबी एयरवेजले अझै विमानस्थलबाट उठाएको छैन । यो जहाज नउठाउँदा जहाजको ल्यान्डिङ र पार्किको शुल्क निगमकै टाउकोमा आइपरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा बोइङको यो जहाज निर्माण बन्द भएको र यही क्षमतको सरहको अन्य कुनै जहाज खरिद गर्दा अहिले कम्तिमा ५ अर्ब रुपैयाँ खर्चनुपर्ने छ । तर, निगमले आफूसँग भएको जहाज उडान नसकेको र बिक्री गर्दा १५ करोड पनि नआउने समस्या भएको छ । सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन नै बन्द पनि भइसकेको छ।

यो सिरजको जहाज नयाँ उत्पादन नहुँदा बजार भाउअनुसार नभएर यसको हरेक पाटपूर्जा र अन्य उपयोगी सामानका आधारमा मूल्यांकन भएको छ। यस्तो मूल्यांकनअनुसार जहाजको बिक्रीमा पनि उडानयोग्य जहाजको मात्रै भएको छ। जहाज उड्न छोडेपछि यसको मूल्यांकन अनपेक्षित रूपमा कम हुन्छ।

निगमले यस अघि बिक्री गरेअनुसार लिलामीबाट जसले धेरै पैसा दिन्छ उसैलाई बिक्री गर्नेछ। निगमले ०४४ सालमा करिब २३ लाख अमेरिकी डलरमा खरिद गरेको यो जहाजले निगमलाई निरन्तर ३० वर्षदेखि अन्तर्राष्ट्रिय उडानमा नियमित सेवा दिइरहेको थियो।

निगमसँग हाल एयरबसकै ए३२०–२०० सिरिजको १५० सिट क्षमताको दुईवटा न्यारोबडी र एयरबस सबै २७४ सिट क्षमताका ए३३०–२०० सिरिजका दुईवटै वाइडबडी छन्। यी जहाजमार्फत निगमले काठमाडौंबाट भारतको नयाँ दिल्ली, मुम्मै, बंग्लोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, थाइल्यान्डको बैंकक, संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबइ र हङकङमा नियमित उडान गरिरहेको छ।

निगमले एयरबसमार्फत लामो गन्तव्यको दूरीअन्तर्गत कोरिया, जापान, चीन, साउदी अरबमा उडान गर्ने योजना बनाएको भए पनि बाइडबडी भित्रिएको करिब एक वर्षसम्म पनि सफल हुन सकेको छैन। निगमले पहिलो चरणमा जापान र चीन उडान गर्ने गरी तयारी गरेको भए पनि सफल भने हुन सकेको छैन।

निगमले आफ्नो प्रयासबाट चीन उडान गर्न नसकेपछि अब कुटनीतिक पहल गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न चीन भ्रमणमा चीन उडान प्रमुख एजेन्डामा पर्ने भएको छ । सरकारले ढिलै भएपनि निगमको सहजताको लागि कुटनीतिक पहल गर्ने भएको पनि उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस