aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उपप्रमुख जागेश्वरी चौधरीले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको बजेट प्रस्तुत गरेकी छिन् । 

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १९ करोड बढी छ । चालू आर्थिक वर्षमा तिलोत्तमाले एक अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पुँजीगत खर्चतर्फ एक अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रुपैंयाँ विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगर : खुसी नगरबासी’ रहेको बताइन । बजेटमा आम्दानी स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् २ करोड ५० लाख, गत वर्षको मौज्दात १ करोड रहेको छ ।

शिक्षातर्फ सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्यतर्फ ५ करोड ३३ लाख ७६ हजार, कृषि, पशुपालन र सिंचाईतर्फ ७ करोड २७ लाख ५७ हजार रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नती, गत वर्ष पूरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि ३६ करोड ८६ लाख ६५ हजार विनियोजन गरिएको छ ।

तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालिम सञ्चालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड १२ लाख रकम विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा ४ करोेड १५ लाख, खेलकुद र युवा तर्फ १ करोड ९७ लाख ३० हजार रकम विनियोजन गरिएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १७ करोड ८७ लाख रकम छुट्टाएको तिलोत्तमा नगरपालिकाले खानेपानी तथा सरसफाईमा ६८ लाख, फोहोरमैला व्यवस्थापनमा ५० लाख रकम विनियोजन गरेको छ । नगरस्तरीय योजना बाहेक जनसंख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व परिचालन क्षमता समेतलाई दृष्टिगत गरी प्रत्येक वडालाई बजेट विनियोजन गरिएको छ ।

बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर र राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि तिलोत्तमाको निर्माणाधिन भ्यूटावर, प्रशासनिक भवन, सभाहल सहितको अतिथि गृह, वडा कार्यालयका प्रशासनिक भवन जस्ता क्रमागत योजनाहरुलाई यथासक्य छिटो सम्पन्न गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था  गरिएको उपप्रमुख चौधरीले बताइन । 

प्रतिक्रिया दिनुहोस