aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

उपत्यकाका बर्डफ्लु पीडित किसानलाई एक करोड

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • बुधबार, १८ चैत्र २०७७
उपत्यकाका बर्डफ्लु पीडित किसानलाई एक करोड

काठमाडौं । सरकारले तारकेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाका किसानलाई करिब १ करोड रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । बर्डफ्लुका कारण पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्तिका लागि पशु सेवा विभागले उक्त रकम दिन लागेको हो ।

गत माघ १६ मा तारकेश्वर नगरपालिका–७ साङ्लेखोलामा बर्डफ्लु फेला परेपछि विभागले शंकास्पद विभिन्न ठाउँमा टोली परिचालन गरिरहेको छ । हालसम्म ६ क्षेत्र (उपत्यका ४ चार र उपत्यकाबाहिर २) मा बर्डफ्लु पुष्टि भइसकेको छ । ती ६ क्षेत्रमध्ये उपत्यकाका चार ठाउँका किसानलाई करिब १ करोड रुपैयाँ क्षतिपूर्ति दिन लागिएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

‘तारकेश्वर नगरपालिकाको वडा नम्बर ७, वडा नम्बर १ (दुई पटक) र नक्खुमा गरी करिब १ करोड क्षति भएको देखिन्छ । किसानलाई क्षतिपूर्ति दिन अर्थसँग बजेट मागेका छौं,’ ढकालले भने, ‘बजेट दुई–तीन दिनमा निकासा हुन्छ, त्यसपछि वितरण गर्छौं ।’ किसानले पाउने क्षतिपूर्ति रकम सन्तोषजनक हुने विभागको दाबी छ ।

किसानलाई क्षतिपूर्ति र अनुगमन (टोली परिचालन गर्न) मा आवश्यक पन्जारपीपीई, औषधीसहितका लागि १ करोड २० लाख रुपैयाँ बजेट माग गरिएको जनाइएको छ । उपत्यकाबाहिर (सुर्खेत र जाजरकोट) मा भने कर्णाली प्रदेश सरकारले नै क्षतिपूर्ति दिने विभागले बताएको छ । क्षतिपूर्ति वितरणमा पारदर्शी भइने ढकालले बताए । उनका अनुसार क्षतिपूर्ति मूल्यांकनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दर रेट निर्धारण समिति हुन्छ । समितिले मूल्य निर्धारण गरेपछि त्यसको ७५ प्रतिशत किसानले पाउँछन् । 

प्रतिक्रिया दिनुहोस