aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

नयाँ सरकारको कसरतमा दाहाल

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, १८ चैत्र २०७७

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी ९जसपा० का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।  

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल सुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ। नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। 

ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ। जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन्। गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउनेलगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईसँग भेटी प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका हुन्। देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले नयाँ सत्ता समीकरणका लागि सहयोग गर्न र प्रधानमन्त्रीसमेत बन्न आग्रह गरे। त्यसलगत्तै दाहालले उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईलाई भेटेका थिए। सत्ता गठबन्धनबारे जसपामा दुई धार देखिएको छ।

प्रतिक्रिया दिनुहोस