
सिन्धुपाल्चोक । भूकम्पको कारण देखाउँदै पुन नाका सूचारू गराउन इच्छुक नदेखेकाे चिनियाँ पक्षले चार वर्षपछि गत महिनादेखि औपचारिक रूपमा मालवाहक सवारी साधनमात्र सञ्चालनमा ल्याउने सहमतिसहित सूचारू गराए पनि तातोपानी नाकामा व्यापारिक गतिविधि भने ठप्प छ ।
ऊन ल्याउँदै आंशिक रूपमा खुलाइएको नाकामा अहिले मालवाहक कन्टेनरसमेत गुडेका छैनन् । चीनतर्फ भौतिक संरचना र व्यापारिक स्थल पुनर्निर्माण भइरहेकाले तत्कालका लागि मालवाहक सवारी मात्रै सुचारु गरिएका थिए ।
चिनियाँ प्रतिनिधिले दर्जनौं भेट, छलफलमा भौतिक पूर्वाधार तयारी गरिरहेको र आफ्नो सरकारलाई यसबारे अनुरोध गरिरहेको बताउँदै आएका छन् ।
नाका खुलाउँदा नेपालबाट झन्डै १ सय ८२ प्रकारका सामग्री (मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राफ्टलगायत) चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो । चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक सामान, कपडाजस्ता सयौं प्रकारका सामग्री नेपाल भित्रिने अनौपचारिक सहमति भएको थियाे ।
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा लार्चामा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आएको छैन । चाइना रेलवे कन्सट्रक्सन कम्पनी (सीआरसीसी) ले बनाएको बन्दरगाहमा सातादेखि ऊन बोकेको एउटा कन्टेनर थन्किएको छ ।
तातोपानी भन्सारका प्रमुख अधिकृत कृष्ण बस्नेतले नाका खुलेसँगै बन्दरगाह जिम्मा लिएको सुनाउँदै उनले शुक्रबारबाट सातजना कर्मचारी आउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस