काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जाँदा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको हो ।
जनस्वास्थ्य विज्ञले कोरोना रोकथामका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, स्थानीय तहमार्फत् कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भनिए पनि सरकारले ठोस योजना बनाएको छैन । यसअघि, बन्दाबन्दीका बेलासमेत कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी बन्न सकेको थिएन ।
अधिकांश नागरिकले मास्क समुचित प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् । सार्वजनिक यातायात, विद्यालय, फिल्म हललगायत भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन् ।
त्यस्तै, सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड फितलो देखिएको छ । सरकारले सीमानाकामा हेल्थ डेस्क सक्रिय बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
जनस्वास्थ्यका मापदण्ड पालना नभएको स्थानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय गर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस