काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो ।
कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण शेयर जारी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य शाक्यले जानकारी दिए। लगातार तीन वर्ष नाफामा देखिए अर्को आर्थिक वर्षमा सेयर जारी गर्न पाइने व्यवस्थाअनुसार तयारी भएको उनको भनाइ छ ।
हाल केयूकेएलले दैनिक करिब आठ करोड लिटर पानी वितरण गर्दै आएको छ । दैनिक १७ करोड लिटर मेलम्चीको पानी थप भएपछि अहिले केयूकेएलले दैनिक २५ करोड लिटर पानी वितरण सुरु गरेको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७÷१७ करोड लिटर पानी थप भएपछि केयूकेएलले दैनिक ५१ करोड लिटर पानी वितरण गर्नेछ । जसको कारोबार हालको भन्दा करिब सात गुणा बढी हुनेछ ।
मेलम्ची आइसकेपछि केयूकेएलप्रति आमउपभोक्ताको धारणामा सकारात्मक परिवर्तन हुने अनुमान केयूकेएलको छ । पानी पर्याप्त भइसकेपछि समय तालिकाअनुसार वितरण नियमित र प्रभावकारी हुनेछ । जसले गर्दा कम्पनीको नाफा बढ्न गई आकर्षण पनि बढ्ने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत र शाक्यको दाबी छ ।
केयूकेएलमा काठमाडौं महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौं उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत शेयर हिस्सा स्थानीय तहहरूको छ । “केयूकेएल सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित भएकाले कम्पनीको प्रबन्धपत्रअनुसार सर्वसाधारणका लागि शेयर जारी गर्छौं,” शाक्यले भने ।
एक अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत शेयर छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्सलगायत चारवटा निजी क्षेत्रका संस्थाको १२ प्रतिशत सेयर छ । कर्मचारी ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत शेयर छ । बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने व्यवस्था छ ।े
केयूकेएलले १० हजार लिटर पानीको एक सय रुपियाँ महसुल लिने गरेको छ । १० हजार लिटरपछि प्रत्येक हजार लिटरको ३२ रुपियाँ थप हुँदै जाने व्यवस्था छ । सेवा प्रभावकारी बनाएपछि शुल्क बढाउने केयूकेएलको योजना छ । हाल केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्दछ ।
प्रतिक्रिया दिनुहोस