aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

‘बिमस्टेक’ मन्त्रीस्तरीय बैठक आज, कुन कुन विषयमा हुँदैछ छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ चैत्र २०७७
‘बिमस्टेक’ मन्त्रीस्तरीय बैठक आज, कुन कुन विषयमा हुँदैछ छलफल

काठमाडौं । बंगालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग ‘बिमस्टेक’ को मन्त्रीस्तरीय बैठक आज बिहीबार बस्ने भएको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त बैठकको नेतृत्व गर्नु हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमा अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहने कार्यक्रम रहेको छ । आज अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको छ । भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्ने कार्यक्रम रहेको छ । 

बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बंगाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो ।

आज बस्ने मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिने तयारी गरिएको छ । यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरण तथा न्यूनीकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।  बिमस्टेकमा आवद्ध राष्ट्रलाई बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा समेत ठोस बाटो तय गर्ने बैठकको एजेन्डा रहेको छ । 

यसअघि यी राष्ट्रमा शिक्षामा सबै जनताको पहुँच पुर्याउने, भौगोलिक आबद्धतालाई बलियो बनाउने, प्राकृतिक र मानवीय स्रोत साधनको आदानप्रदान तथा बहुसांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बढवा दिँदै विकास र समृद्धिमा रुपान्तरण गर्ने विषयमा साझा अवधारणा प्रस्तुत गरिएको थियो ।

नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् । जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतंकवाद र संङठित अपराध विरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।

बुधबार मन्त्री स्तरीय बैठकको तयारीका लागि बुधबार तयारी बैठक बसेको छ । उच्चस्तरीय बैठकले संगठनको विभिन्न सम्बन्धित विषयका बारेमा छलफल गर्दै मूल्य मान्यताको स्थापना, संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको छ । 

त्यस्तै सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयलगायतका बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा १७ औँ मन्त्रीस्तरीय बैठकको तयारीका बारेमा पनि बृहत् छलफल गरेको थियो । बुधबारको बैठकमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्चाधिकारीको सहभागिता रहेको थियो । बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित ब्रंगलादेश, भुटान, भारत, श्रीलंका, म्यानमार र थाइल्यान्ड रहेका छन् । बैठक आयोजना श्रीलंकाले गरेको हो । 
 


 

प्रतिक्रिया दिनुहोस