
एजेन्सी । नेटोसँग सम्बन्धित अत्यन्तै गोप्य सूचना जासुसी गरेको प्रमाण फेला परेपछि इटालीले दुई जना रसियन कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रसियन राजदूत सेर्गेई राजवलाई यसबारे बुधवार जानकारी दिइएको हो ।
सो घटनामा इटाली जल सेनाका क्याप्टेनलाई समेत पक्राउ गरिएको छ । जसले रसियन सैनिकहरूलाई नेटो सदस्य राष्ट्रहरुसंग सम्बन्धित महत्त्वपूर्ण सूचनाहरू उपलब्ध गराइरहेका थिए ।
इटालीले ती क्याप्टेनले पैसा लिएर सूचना बिक्री गरेको आरोप लगाएका छन् । जसले पाँच हजार युरो लिएर सूचना बिक्री गरिरहेको बेला रंगेहात पक्राउ गरेको रोयटर्स लगायतका अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले उल्लेख गरेका छन् ।
अहिले रसिया र अन्य युरोपेली मुलुकहरूबिच द्धन्द चर्किरहेको अवस्था छ । यहिबेला इटालीले रसियन कुटनितिज्ञहरुलाई देश निकाला गरेपछि अन्य पश्चिमेली राष्ट्रहरूसमेत आगोमा घिउ थप्ने काम गरिरहेका छन् ।
यो घटनाबारे टिप्पणी गर्दै बेलायती विदेश सचिव डोमिनिक रावले आफूहरू इटालीको साथ रहेको घोषणा गरेका छन् । इटाली पुलिसले आफ्ना एक क्याप्टेनद्वारा राज्यका महत्त्वपूर्ण सूचनाहरू विक्री गरेको भेटिएपछि पक्राउ गरिएको स्वीकार गरेको छ ।
इटालीले देश निकाला गरेको ती दुई रसियन अधिकारीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस