
भारत । सरकारी ढुकुटी कमजोर बन्दै गएपछि भारत सरकारले सरकारी स्वामित्व रहेका कम्पनीहरूको शेयर बिक्री गरेर ठुलो रकम जम्मा गर्ने भएको छ । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार दुई लाख करोड भारतीय रुपैयाँ यसरी जम्मा गर्ने महत्वकांक्षी योजनामा भारत सरकार लागेको छ ।
यसअघि एक आर्थिक वर्षमा एक लाख करोड भन्दा बढी राशि यो विधिबाट जम्मा गरेको रेकर्ड भारत सरकारसँग छैन । तर, आधा दर्जन कम्पनीको शेयर बिक्री हुने लक्षण देखिएपछि सरकारी सम्पत्ति बेचेर भण्डार भर्ने काममा समेत भारत सरकारले नयाँ रेकर्ड कायम गर्न लागेको हो ।
१.७५ लाख करोड भारतीय रुपैयाँ यो माध्यमबाट जम्मा गर्ने लक्ष्य चालू आर्थिक वर्षमा लिएकोमा लक्ष्यभन्दा बढी जुट्ने भएपछि भारतको अर्थ मन्त्रालयका अधिकारीहरू दङ्ग छन् । भारतले शेयर बेच्न लागेको सबै भन्दा ठुलो कम्पनी भारतीय जीवन बिमा निगम हो । जसको ठुलो आईपीओ निष्कासन गर्ने सोचमा सरकार लागिपरेको छ ।
त्यसैगरि, लगातार नाफा कमाइरहेको कम्पनी भारत पेट्रोलियम कर्पोरेसन पनि सरकारले शेयर बिक्री गर्न लागेको सूचीमा छ । घाटामा गएको एयर इन्डियाको शेयर यो शाल बिक्ने आशामा भारत सरकार छ । त्यसबाहेक सिपिङ कर्पोरेसन, कन्टेनर कर्पोरेसन, आइडीबीआइ बैंक र पवन हंस लगायतका कम्पनीको शेयर बचेर उल्लेखित रकम सरकारको ढुकुटीमा हाल्ने सोचमा भारत सरकार पुगेको हो ।
प्रतिक्रिया दिनुहोस