
काठमाडौं । अब होटल तथा रिसोर्टहरूको पहिचान होटल बोर्डमा राखिएको तारा तथा संकेतबाटै खुल्ने भएको छ । आजदेखि होटल संघ नेपाल ‘हान’ ले होटलहरूको वर्गीकरणअनुसार होटलहरूको पहिचान चिन्ह (तारा) वा संकेतलाई आफ्नो बोर्डमा राख्ने सरकारले गरेको व्यवस्थालाई कार्यान्वयनमा लगेसँगै सेवाग्राहीले अब सहजै होटलको स्तर पहिचान गर्न सक्ने भएका हुन् । सरकारले गत माघ ५ गते राजपत्रमा प्र्रकाशित गरेको ‘एकतारादेखि पाँच तारा डिलक्स होटलसम्मको वर्गीकरणलाई आजदेखि कार्यान्वयनमा लैजान लागेको हानका महासचिव सजन शाक्यले जानकारी दिए ।
‘संघको वार्षिक उत्सव पारेर हामीले सरकारले गरेको नयाँ व्यवस्था कार्यान्यनमा लैजान लागेको हौं,’ उनले भने ‘अब होटलहरूलाई प्लाष्टिक मुक्त क्षेत्र बनाइने छ ।’ होटल क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र पनि घोषणा गरिदैछ ।’ यसअघि होटलहरूको स्तर उनीहरूले दिने सेवा सुविधाको आधारमा गरिएपनि कुन होटल डिलक्स हो या कुन लक्जरी हो भनेर छ्ट्याइएको थिएन । पछिल्लो व्यवस्थाले होटलहरूको स्तर बोर्डमा राखिने चिन्ह र संकेतले पहिचान गराउने छ ।
अब सोवग्राहीहरूले होटल तथा रिसार्टहरूको पहिचान होटलको बोर्डमा राखिएको चिन्ह र संकेतका आधार सहजै गर्न सक्नेछन् संघले यो व्यवस्था कार्यान्वयनमा लगेसँगै होटल तथा रिसोर्टहरूले सरकारबाट पाएको चिन्ह तथा शब्द संकेत उनीहरूले बोर्डमा नै देखिने गरि राख्नु पर्नेछ । सेवाग्राहीहरूले होटल तथा रिसोर्टहरूको पहिचान सहजै गर्न सकुन भनेर उनीहरूले उपलब्ध गराउने पहिचानको आधारमा चिन्ह र संकेत दिने निर्णय पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । होटल तथा रिसोर्टको पहिचान उनीहरूले उपलब्ध गराउने सेवा सुविधाको आधारमा राखिने चिन्ह वा संकेतले निर्धारण गर्दछ ।
होटलको स्तर अनुसार एक तारादेखि पाँच तारासम्मका जुन स्तरको होटल हो सोही अनुरुप एकदेखि पाँच तारासम्म होटलको नाम लेखिएको बोर्डमा राख्नुपर्ने छ । तारा सहित अतिरिक्त सेवा दिने होटलका लागि भने तारासहित होटल पहिचानको लागि शव्द संकेत समेत स्पष्ट रुपमा राख्नुपर्नेछ । एक तारा स्तरको होटलका लागि एक तारा, दुई तारास्तरको होटलका लागि दुई तारा, तीन तारास्तरको लागि तीन तारा, चार तारास्तरको होटलका लागि चार तारा र पाँच तारास्तरको होटलका लागि पाँच तारा चिह्न रहने निर्णय भएको महासचिव शाक्यले बताए ।
‘होटल तथा रिसोर्टहरूले होटलको नाम रहेको बोर्डमा नै स्तरअनुसारको चिन्ह र शव्द संकेतको रुपमा राख्नुपर्नेछ,’ उनले भने ‘यसले आम पर्यटकलाई आफू बस्ने होटल तथा रिसोर्टको पहिचान गर्न सजिलो हुन्छ ।’ त्यसरी नै लक्जरी रिसोर्टको लागि पाँच तारा र लक्जरी रिसोर्ट शब्द प्रयोग गरिने भएको छ भने लक्जरी हेरिटेज बुटिक होटलका लागि– पाँच तारा र लक्जरी हेरिटेज बुटिक शब्द र पाँच तारा डिलक्सस्तरको होटलका लागि– ५ पाँच तारा र डिलक्स शब्द प्रयोग हुने पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।
डिलक्स हेरिटेज बुटिक होटलका लागि– चार तारा र डिलक्स हेरिटेज बुटिक शब्द र डिलक्स रिसोर्टको लागि चार तारा र डिलक्स रिसोर्ट शब्द प्रयोग गर्ने निर्णय विभागले गरेको छ । विभागका अनुसार साधारण हेरिटेज बुटिक होटलका लागि– तीन तारा र स्ट्यान्डर्ड हेरिटेज बुटिक शब्द र साधारण रिसोर्टको लागि तीन तारा र स्ट्यान्डर्ड रिसोर्ट शब्द प्रयोग हुनेछ ।
साथै, साविक पर्यटन विभाग अन्तर्गतका कार्यालयबाट स्थापना भएका तर हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका होटलको हकमा गोलाकार रेखाभित्र रातो रंगमा टिएस लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा राख्ने निर्णय पनि विभागले गरेको छ । विभाग अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका होटलको हकमा गोलाकार रेखाभित्र रातो रंगमा एम लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा राख्ने निर्णय समेत भएको बताइएको छ ।
हाल नेपालमा १६ वटा पाँच तारे, १६ वटानै चार तारे, ३३ वटा तीन तारे, ४१ वटा दुई तारे र ३४ वटा एकतारे होटल सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस