काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका छन्। उनले भने,‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो, यसले संविधान मिच्यो, यसले कानून मिच्यो, यसले जनजिविकाको विषयलाई पटक्कै हेरेन, उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो, भ्रष्टाचारमा लिप्त भयो, मुलुकमा विसंगति बढायो, त्यसको भएको हुनाले यसको विकल्पमा अर्को सरकार गठन गर्नुपर्यो, कांग्रेस किन चुप लागेर बसेको छ भन्ने दबाबका बीच हिजो भएको केन्द्रीय समितिको बैठकमा हामीले पनि आन्तरिक रुपमा लामो छलफल र बहस गरेपछि अब जनताको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय राजनीतिक दलहरुको बेला बेलाको परामर्श र सुझावलाई ग्रहणलाई गर्दै हामीसँगै रहेको, आन्दोलनमा सँगै रहेको, सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि कांग्रेसको नेतृत्वसँग पटक पटक परामर्श गरिसकेपछि कांग्रेसले पनि वैकल्पिक सरकार गठन गर्ने बाटो हिजो केन्द्रीय समिति बैठकबाट खोल्यो ।’
उनले नेकपा (माओवादी केन्द्र) ले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने,‘माओवादी केन्द्रले छिटोभन्दा छिटो समर्थन फिर्ता लिनुपर्छ । आन्तरिक कारणले हो कि, वा रणनैतिक कारणले हो, अथवा प्राविधिक कारणले हो, किन हो ? उहाँहरुले फिर्ता लिनुभएको छैन् । उहाँहरुले समर्थन फिर्ता लिएर बाटो खोलिदिएपछि नेपाली कांग्रेसले सबै राजनीतिक दल, सबै भनेको केपी ओली नेतृत्वको एमाले होईन है, तर एमालेभित्रपनि उत्पीडनमा परेकाहरुसँगपनि बृहत्त परामर्श र छलफल गरेर अघि बढ्छौं । र, यो मुलुकलाई राजनीतिक निकास दिनको लागि, संसदीय पद्धतीलाई सुचारु गर्नको लागि, र अब बजेट र योजना तर्जुमा गर्ने बेलामा वैधानिक र बहुमत, र जनताको सरकार निर्माण गर्नको लागि सरकार तयार छ । यो भन्दा अगाडि पनि कांग्रेसले पहल गरिरहेको थियो । अब औपचारिक रुपमा वार्ता तथा छलफलबाट नयाँ सरकारको गठनको तयारीमा हुन्छौं ।’
उनले संसदले अर्को सरकार खोजिरहेको भएपनि प्रधानमन्त्री ओलीले भने अर्को संसद बनाउनको लागि विभिन्न भेन्टिलेशन खोजिरहेको टिप्पणी गरे । उनले भने,‘बाहिर हल्ला हुन्छ, फेरि संसद विघटन गर्दै हुनुहुन्छ अरे, एपटक आगोमा छोएर हात डढाईसकेको बच्चाले त फेरि त्यो आगोमा हात हाल्दैन भने प्रधानमन्त्री त्यति बालकभन्दा मुर्ख हुनुहुन्छ जस्तो मलाई लाग्दैन् ।’ नेता विश्वकर्माले प्रधानमन्त्री ओली अब संसद विघटनतर्फ नजाने विश्वास दिलाए । उनले भने,‘अहिलेकै संसदले अर्को वैकल्पिक सरकार खोज्नुबाहेक अर्को विकल्प छ जस्तो लाग्दैन् ।’ उनले माओवादी केन्द्र र जसपाका भएकाजति सबै सांसदहरुलाई नटुक्रिनेगरि र नछुट्टिनेगरि एकीकृत ढंगबाट अहिलेको वैकल्पिक सरकार गठनको लागि दत्तचित्त भएर लाग्नेगरि अविश्वासको प्रस्ताव ल्याएर हुन्छ वा प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने त्यसको लागि अघि बढ्ने सुनाए ।
उनले अब बन्ने सरकारको नेतृत्व कसले गर्ने ? प्रधानमन्त्री बन्ने भन्नेबारे विवाद नहुने पनि जिकिर गरे । उनले भने,‘जसको नाममा सहमति जुट्छ, यहाँ हक हिस्सा खोज्ने कुरा होईन । जसरी हिजो राजा ज्ञानेन्द्रको निरंकुशको बेला को अगाडि ? को पछाडि ? भनेनौं, अहिले वैकल्पिक सरकार गठन गर्नु भनेको यो सुविधाको अवस्था होईन । यो बाध्यताको अवस्था हो । बाध्यताको परिस्थितिमा उहाँ नै प्रधानमन्त्री बन्नुपर्छ अन्यथा हुन्न भन्यो भने नयाँ सरकार बन्दैन् । त्यसो भएको हुनाले वैकल्पिक प्रधानमन्त्री जो कोही हुनसक्ने गरि साझेदार दलहरुका बीचमा अत्यन्तै खुकुलो ढंगबाट छलफल गरेर, अत्यन्तै उत्साहका साथ छलफल गरेर, बाध्यताका साथ छलफल गरेर होईन, वैकल्पिक सरकार दिनुपर्छ । अहिलेको जनविरोधी सरकारको विकल्प खोज्नुपर्दछ ।’
नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको हिजोको निर्णयको स्वागत गरेका छन् । उनले भने,‘कांग्रेसको हिजो निर्णय स्वागतयोग्य छ ।’ उनले पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेको र उक्त कदम सच्चिनुपर्ने भनेको र अदालतले संसद पूनःस्थापना गरेपनि अहिले संसद् सुचारु नभएको गुनासो पोखे ।
प्रधानमन्त्री ओलीको सोच अहिलेपनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित रहेको उनको आरोप छ । उनले भने,‘हालै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि उहाँले पटक पटक यो संसद चल्न सक्दैन् र फेरि पनि विघटन गर्नुपर्ने कुरा राख्नुभयो । संसद विघटन गर्न सहमति चाहियो भन्नुभयो । प्रधानमन्त्री पुष ५ गतेकै मनस्थितिमा हुनुहुन्छ ।’
उनले वर्तमान सरकारले संविधानविरोधी काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने थियो भन्ने भनाई राखे । उनले भने,‘संविधानतः हामीले पुष ५ गते समर्थन फिर्ता लिएसरह हो । यो सरकार त संसद विघटन गर्नेबित्तिकै कामचलाउ सरकार हो ।’
उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु वा नलिनुको कुै अर्थ नभएको पनि जिकिर गरे । उनले भने,‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विभाजन गरिदियो । यो सरकार स्वतः केयर टेकरमा परिणत भैसक्यो । धारा १०२ अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’ उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि पनि आफूहरु खुल्ला नै रहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले राजीनामा दिनपनि नमानेको र केयर टेकर भनेर स्विकार पनि नगरेको उनले सुनाए । उनले अब दलहरुको बीचमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव मुभ गर्ने कि समर्थन फिर्ता लिनेबारे जे सहमति हुन्छ त्यसमा आफूहरु ओपन रहेको स्पष्ट पारे । उनले संविधानको रक्षा गर्नुको विकल्प नभएको बताए । उनले भने,‘अहिलेको उपलब्धि रक्षा गर्नुपर्छ । पुष ५ गतेपछि संवैधानिक लोकतान्त्रिक गणतन्त्र सिध्याउने ट्रेण्ड देखापर्यो । संविधानका धारा, धफाहरु सबै उल्लंघन गर्दै जाने ट्रेण्ड एण्ड टेण्डेन्सी सरकारबाटै देखापर्यो ।’
उनले संविधानको रक्षा गर्ने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने जनाए । उनले भने,‘अहिले संविधान रोज्ने कि यात प्रधानमन्त्रीज्यू रोज्ने भन्ने स्थिति पैदा भएको छ । यो अवस्थामा हामी अग्रगमनको पक्षमा जानुको विकल्प छैन् ।’ कांग्रेसले हिजो गरेको निर्णयले एउटा ढोका खुलेको भन्दै अब यहीअनुसार प्रक्रिया अघि बढ्ने गुरुङको भनाई छ ।
प्रतिक्रिया दिनुहोस