aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

अनुपम सिप तर तलब भने मासिक ६७ रुपयाँ !

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २२ चैत्र २०७७
अनुपम सिप तर तलब भने मासिक ६७ रुपयाँ !

काठमाडौँ। कोही पत्याउनुहुन्छ, भैरवनाथको रथ बनाउनेको मासिक तलब ६७ रुपैयाँ ५० पैसामात्रै छ भन्दा ? अहिले सामान्य मजदुरले समेत एक बोरा भारी बोकेको ज्याला एक सय रुपैयाँभन्दा घटीमा मान्दैनन्। भारी बोक्न कुनै सीप र कुशलता आवश्यक पनि पर्दैन। यसहिसाबले सीपले दक्ष त्यसमाथि कालीगढको दैनिक ज्याला कति होला ?

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले दक्ष कालीगढको दैनिक ज्याला एक हजार नौ सय तोकेको छ। निर्माण व्यवसायीले योभन्दा पनि बढी ज्याला दिएको पाइन्छ। यस्तो अवस्थामा भक्तपुरको प्रसिद्ध बिस्का जात्राको प्रमुख आकर्षण भैरवनाथको रथ बनाउने सिकर्मी नाइकेको मासिक तलब ६७ रुपैयाँ ५० पैसा मात्रै छ भन्दा सायदै कोही पत्याउलान् ! तर नपत्याई सुखै छैन।

गुठी संस्थान भक्तपुरले भैरवनाथको रथ बनाउने सिकर्मी नाइकेलाई दैनिक उक्त ज्याला दिँदै आएको २० वर्षभन्दा बढी भइसक्यो। जुन ज्यालाले पेटभरि खाजा खान पनि पुग्दैन।

‘६७ रुपैयाँ ५० पैसा मासिक तलबमा काम गरेकै २० वर्ष भइसक्यो’, सिकर्मी नाइके प्रेमलाल शिल्पकारले भने, ‘यसअघि त ८ रुपैयाँ मात्रै थियो।’ उनका अनुसार दिनभरि काम गरे पनि खाजा आफ्नै खल्तीको पैसाले खानुपर्छ। भक्तपुर नपा ५ टौमढीस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा भैरवनाथको रथ बनाउने काम अहिले धमाधम भइरहेको छ। रथ बनाउने कामको नेतृत्व उनै सिकर्मी नाइके प्रेमलालले गर्दै आएका छन्।

उनी भैरवनाथ र भद्रकालीको रथ बनाउन गुठी संस्थानबाट नियुक्ति पाएका सिकर्मी नाइके हुन्। ११ वर्षको छँदै बाजे कैसे शिल्पकारसँग रथ बनाउने काममा खटिँदै आएका प्रेमलाल आफैंले नेतृत्व लिएको भने २० वर्ष भयो। उनले २०५८ सालदेखि सिकर्मी नाइके भएर भैरवनाथ र भद्रकालीको रथ बनाउँदै आएका छन्। उनीअघि उनका बुबा मंगलाल र बाजे कैसे शिल्पकार सिकर्मी नाइके थिए। अहिले प्रेमलालले अरू आठजनालाई साथमा लिएर काम गरिरहेका छन्। जसमा कोही सिकर्मी छन् भने कोही कालीगढ। केहीको संख्यामा सहयोगी पनि छन्। 

प्रेमलाल मातहतमा काम गर्ने सिकर्मी र कालीगढले भने उनको भन्दा दुई सयदेखि तीन सय गुणा बढीसम्म ज्याला बुझ्छन्। ‘सिकर्मीलाई दैनिक एक हजार पाँच सय रुपैयाँ र कालीगढलाई दैनिक दुई हजार रुपैयाँ ज्यालाको व्यवस्था गरेका छौं’, प्रेमलालले भने।

प्रतिक्रिया दिनुहोस