aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

गाउँ नै कालो हुनेगरी कोइला कारखाना

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, २२ चैत्र २०७७
गाउँ नै कालो हुनेगरी कोइला कारखाना

काठमाडौँ। मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढार्नुपर्छ । तर पनि छिनमै घर धुलाम्मे भइहाल्छ ।

भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ । ‘अहिले बढारेर बसेको, फेरि उस्तै भयो,’ कोइलाको कालो धूलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, ‘प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वर्षौंदेखि घरमै प्रदूषण भोगिरहेका छौं ।’ कारखानाबाट करिब ५० मिटर दूरीमा रहेको यही घरले गाउँमा सबैभन्दा बढी प्रदूषणको मार खेप्नुपरेको छ ।

पूर्व–पश्चिम राजमार्गको धुलाबारी–चारआली सडक खण्डमा ढाट भन्ने ठाउँ छ । यही ढाट उत्तर सडकसँगै सटेको छ, कनिष्का धर्मकाँटा । धर्मकाँटाको काम भारतबाट आएका मालवाहक गाडीलाई सशुल्क नापजाँच गर्नु हो । धर्मकाँटाभन्दा अझै उत्तरमा छ, पत्थर कोइलाको ठूलो डिपो र प्रशोधन कारखाना । यो कारखाना धर्मकाँटाकै नामबाट सञ्चालित छ । जब कारखानाको मेसिन चल्न थाल्छ, तब मेसिनबाट निस्किने धूवाँ र कोइलाका ससाना कणलाई हावाले स्थानीय बासिन्दाका घरघर पुर्‍याउँछ ।

कारखाना सञ्चालन गर्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ । जसका लागि गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थासँग वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा लिखित सुझाव लिनुपर्छ । तर कारखाना सञ्चालनअघि यी कुनै प्रक्रिया नपुर्‍याइएको स्थानीयको भनाइ छ ।


कोइला कारखाना आसपासका करिब एक सय घर प्रत्यक्ष र करिब तीन सय घर अप्रत्यक्ष रूपमा प्रदूषणको मारमा छन् । सम्बद्ध निकाय भने वर्षौंदेखि मौन छ । ‘गाउँको बीचमा कारखाना राखिएको छ,’ स्थानीय टिकेन्द्र खनालले भने, ‘कारखाना हटाउन पटक–पटक अनुरोध गरियो, तर चासै दिएनन् ।’ खनाल अध्यक्ष रहेको सयपत्री टोल विकास संस्थाले २०६९ मंसिर ८ गते कारखाना हटाउन मेचीनगर नगरपालिकामा उजुरी गरेको थियो । प्रदूषण प्रभावित स्थानीयले निर्वाचित जनप्रतिनिधि आएलगत्तै पुनः ध्यानाकर्षण गराए, लिखित र मौखिक रूपमै । तर आश्वासनबाहेक केही पाएनन् ।

एक पटक वडाध्यक्ष सुदय पनेरुलाई स्थलगत अवलोकन गराएरै जानकारी गराइएको थियो । उनले पनि आश्वासन मात्रै बाँडे । ‘आठ वर्षदेखिको हाम्रो प्रयत्न खेर गयो,’ खनालले भने, ‘जनप्रतिनिधिदेखि समाजका अगुवाहरूकै संरक्षणका कारण कारखाना बन्द हुन नसक्दा हामी प्रदूषणको चपेटामा बाँच्न बाध्य छौं ।’ मेयर विमल आचार्यले भने कारखानाका कारण प्रदूषण बढेको भनेर दुई–चार जना मान्छेले गुनासो गरेको बताउँदै कारखाना नजिकका केही घरलाई मात्रै प्रभाव पारे पनि सिंगो गाउँलाई असर नपारेको दाबी गरे ।

रजनीश करनानी नाम गरेका भारतीय व्यापारीको यो कारखानामा भारतको असमबाट आयातित पत्थर कोइला र भुटानबाट आयातित जिप्सम ग्रेडिङ गरिन्छ । कारखानामा उनले ढुंगा टुक्र्याउन प्रयोग गरिने क्रसर उद्योगको जस्तो ठूलो भट्टी नै चलाएका छन्– मध्य गाउँमा । यहाँ आउनुअघि उनको यस्तै कारखाना बिर्तामोड नगरपालिकाको चारपाने क्षेत्रमा थियो । स्थानीयले तीव्र विरोध गरेपछि उनले कारखाना हटाए । र, यता सारे । कारखाना सुरु गर्नुअघि उनले समाजका ‘गन्नेमान्ने’ लाई हातमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस