aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

फागुनसम्ममा बाणिज्य बैंकहरु ४२ अर्बभन्दा माथि कमाउदै सुरक्षित अबस्थामा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २२ चैत्र २०७७
फागुनसम्ममा बाणिज्य बैंकहरु ४२ अर्बभन्दा माथि कमाउदै सुरक्षित अबस्थामा

काठमाडौं । आर्थिक वर्ष २०७७र७८ को फागुनमा वाणिज्य बैंकहरूले साढे छ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैंकहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिब ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैंकहरू सुरक्षित अवस्थामा छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको नाफा फागुन महिनासम्म ४१ अर्ब ९५ करोड ९० लाख २० हजार रुपियाँ पुगेको छ । माघ महिनासम्म बैंकहरूको यस्तो नाफा ३५ अर्ब ९५ करोड ५६ लाख ८० हजार रुपियाँ रहेको थियो ।

चालू आर्थिक वर्षको फागुनमा सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा नबिल बैंक सबैभन्दा माथि छ । अघिल्लो महिना तेस्रो स्थानमा रहेको सो बैंकले फागुनमा तीन अर्ब १२ करोड ८८ लाख २० हजार खुद नाफा कमाएर पहिलो बनेको हो । अघिल्लो महिना नबिलभन्दा माथि रहेको ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा आएको छ । सो बैंकले फागुनमा तीन अर्ब आठ करोड ९५ लाख २० हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको तथ्याङ्क छ । दुई अर्ब ७८ करोड २१ लाख ३० हजार रुपियाँ नाफासहित एनआईसी एसिया तेस्रो स्थानमा छ ।

फागुनमा दुई अर्बमाथि नाफा गर्ने बैङ्कको सूचीमा एनआईसी एसियासहित प्राइम कमर्सियल, एनएमबी र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।
प्राइमले दुई अर्ब ४० करोड ४४ लाख रुपियाँ, एनएमबीले दुई अर्ब १९ करोड ८२ लाख ५० हजार तथा नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ४३ करोड छ लाख ४० हजार रुपियाँ मुनाफा आर्जन गरेका छन् ।

यस्तै एक अर्बमाथि नाफा आर्जन गर्ने बैंकहरूमा नेपाल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, मेगा बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, माछापुछ«े बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक अर्बभन्दा तल नाफा रहेका बैंकहरूमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाण्डू, सेन्चुरी कमर्सियल बैंक, सिभिल बैंक र नेपाल बङ्गलादेश बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस