aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
टिप्पणी

के भन्दैछ राजनीतिले ? विष्णु पौडेलले पाउलान् बजेट भाषण गर्न ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
के भन्दैछ राजनीतिले ? विष्णु पौडेलले पाउलान् बजेट भाषण गर्न ?

केपी ओली नेतृत्वको वर्तमान सरकार आगामी आर्थिक वर्षको लागी बजेट निर्माणमा लागि परेको छ। अर्थ मन्त्रालयको व्यस्तता हेर्दा सो मन्त्रालय हाल कै अर्थमन्त्री विष्णु पौडेललेनै बजेट ल्याउँछन् भन्नेमा विश्वस्त देखिन्छ।  तर, राजनीतिक माहौल भने अर्कै छ।  सरकार तुरुन्तै परिवर्तन हुने पो हो कि जस्तो देखिन्छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार परिवर्तन गर्ने शुक्रवार निर्णय गरेसँगै आर्थिक क्षेत्रमा समेत नयाँ विषयले चर्चा पाएको छ।  त्यो हो आगामी बजेट यही सरकारले (अर्थमन्त्री विष्णु पौडेलले) ल्याउँछ कि नयाँ अर्थमन्त्रीले सो अवसर पाउने हुन् ? यदि सतही रूपमा हेर्ने हो भने अब केपी ओलीको वर्तमान सरकारको आयु लामो देखिँदैन।  तर, जब हामी नेपालका सबै राजनीतिक दल भित्रको अन्तर सङ्घर्ष र द्वन्द्व हेर्छौँ परिदृश्य भिन्नै देखिन्छ।  जे जसो गरे पनि केपी ओलीको विकल्प केपी ओली नै रहने अहिलेको राजनीतिक रङ्गमञ्च यदि वास्तव मै रोचक छ। 

काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको विकल्प खोज्ने कुरा आफ्नो दलको बैठकमा राख्ने बित्तिकै सबैभन्दा बढी उत्साहित एमाओबादी अध्यक्ष प्रचण्ड बने।  सँगसँगै समस्या फेरी सुरु भयो किनभने समकालीन नेपाली राजनीतिका सबैभन्दा अविश्वसनीय नेता प्रचण्डसँग अति नै गाह्रो अवस्था बाहेक सहकार्य नगर्ने मुडमा देउवा छन्। हुन पनि प्रचण्डबाट कुनै न कुनै रूपमा एक पटक धोका नखाएका दल या नेता दुर्लभै भेटिने अवस्था छ। उनले आफ्नो सशस्त्र द्वन्द्व नीतिलाई विश्वास गर्दै जीवन मरणको यात्रामा साथ दिएका हजारौँ हजार लडाकु र कार्यकर्तालाई बिना कुनै हिचकिचाहट जसरी निर्लज्ज ढङ्गले ढोका दिए त्यसले उनी प्रतिको आम विश्वास शून्यको स्तरमा झरेको छ। 

यस्तो बस्तुगत यथार्थता देख्दा देख्दै धोकाधडीलाई सामान्य र स्वाभाविक मानिने सत्ता समीकरणमा प्रचण्डमाथि विश्वास गरेर अघि बढ्ने वा नबढ्ने भन्ने दोधारमा काँग्रेस रहनुलाई अन्यथा भन्न सकिँदैन। फेरि पनि मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन र प्रमुख प्रतिपक्षी भए पनि समय परिस्थितिले आफ्नो दललाई सुम्पिएको जिम्मेवारी पुरा गर्न काँग्रेस तत्पर रहनुपर्छ भन्ने शुक्रवारको निर्णय सही छ। तर, काँग्रेसको सो निर्णयलाई कार्यान्वयन तहमा पुर्‍याउने काम भने प्रचण्डको नै हो जुन ल्याकत अहिले उनीसँग छैन। 

त्यसो त प्रचण्डको प्रधानमन्त्री बन्ने आशक्तिले नै पछिल्लो अवस्था निर्माण भएको दोहोर्याईरहनु पर्ने कुरा होइन तथापि अहिले समेत उनको चेत फर्किए जस्तो देखिँदैन। उनी अहिले पनि कुनै तिकडम गर्दा कतै लाटाको खुट्टा बाटामा परिहाल्छ कि भन्ने दाउपेचबाट अहिले पनि मुक्त हुन सकेका छैनन्।  समस्याको जड त्यहीँ छ। उता गणितीय ढङ्गले पनि जनता समाजवादी पार्टीको समर्थन बिना नयाँ सरकार गठन हुन सक्दैन।  फेरी त्यहाँ समेत दुई वटा फरक फरक गुट आआफ्नै योजना र लालसा बोकेर बसेका छन्। एकातिर पूर्व राजपाका नेताहरूलाई प्रधानमन्त्री ओलीले राम्रै गरी घाँस हालेको अवस्था छ। त्यहाँ कोही प्रधानमन्त्री त कोही भावी राष्ट्रपति समेत बन्ने सपना बुनिरहेका छन्। जसपाका कै नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव अर्कै लालसा र समस्याका कारण अलमलमा छन्।  त्यसैले सो पार्टीले कुनै ठोस निर्णय गर्ने अवस्था अहिले देखिँदैन।  समस्याको अर्को जड यहाँ छ। 

काँग्रेसले नयाँ सरकार बनाउने चाहना राखे पनि एमाओबादी र जसपाको अनिर्णय अहिलेको प्रमुख समस्या हो। यो स्थिति कायम राख्न चतुर प्रम केपी ओलीलाई कुनै मुस्किल छैन।  उनले सजिलै उल्लेखित पात्र र प्रवृत्तिलाई अलमल्याउन, लोभ्याउन र तर्साउन सक्छन्। त्यसो हुँदा एमाले बाहेकका दलहरूले नयाँ सरकार गठन गर्न सक्दैनन्। परिणामस्वरूप ओली सरकारले नै अझै केही समय निरन्तरता पाउने निश्चित छ। 

अन्त्यमा, के निष्कर्षमा पुग्दा गलत हुँदैन भने जेठ १५ गते हाल कै अर्थमन्त्री विष्णु पौडेलले नै बजेट संयुक्त संसद्मा बजेट गर्दै छन्।  त्यसैले यो सबै परिदृश्य बुझेका अर्थमन्त्री बजेट निर्माणमा व्यस्त छन् भने अर्थ मन्त्रालयका कर्मचारीलाई असार पन्ध्रको झैँ चटारो छ।  

प्रतिक्रिया दिनुहोस