
काठमाडौँ। पुल तयार भएपछि त्रिशूली वारिपारि गर्न सजिलो हुन्छ भन्दै दीर्घबहादुर रिमाल खुसी थिए । पुल धमाधम ढलान हुन थालेपछि उनी बेला बेलामा हेर्न पनि जान्थे । तीन दिनअघि पनि लौरो टेक्दै पुल नजिक पुगेका थिए ।
यो वर्षभित्र पुलबाट गाडी वारपार हुने कुरा सुन्दा दंग परे । लौरो टेक्दै मंगलबार बिहान पनि उनी पुल छेउ पुगे । तर पुल त कामै नलाग्ने गरेर भत्केको देखे । ‘अस्तिमात्र ल अब छिट्टै पुल तयार हुन्छ भन्दै थिए । के भएर भत्केछ यो पुल ?,’ भरतपुर–१ ठिमुराका ९० वर्षीय रिमालले भने । उनको गाउँपारि तनहुँको देवघाट पर्छ । त्रिशूली तरे मात्रै वारिपारि गर्न सकिन्छ । नदीमाथि मोटरेबल पुल बनाउन २०७१ कात्तिकमा सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०७४ कात्तिकमै निर्माण पूरा हुनुपर्थ्यो तर चार पटक म्याद थपे पनि तयार हुन बाँकी रहँदै पुल भत्केको छ । मंगलबार बिहान ४ बजेतिर पुल भत्केको जानकारी आएको र भत्किनुको कारणबारे अध्ययन हुने डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । छानबिनका लागि सडक विभागले टोलीसमेत गठन गरेको छ ।
यो पुलले चितवन र तनहुँ मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्छ । पुल दुई सय मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान हुन्छन् । कंक्रिटका ४०र४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ । बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी थियो । ‘ढलान भएको मध्ये ठिमुरातर्फका दुई वटा कंक्रिटको स्पान नदीमा खसेको हो,’ इन्जिनियर खनालले भने ।
प्रतिक्रिया दिनुहोस