aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

यी सुन्दरीका कारण रह्यो फोर्ब्सको अर्बपति सूची चर्चामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
यी सुन्दरीका कारण रह्यो फोर्ब्सको अर्बपति सूची चर्चामा

काठमाडौँ। हालै फोर्ब्सले सार्वजनिक गरेको विश्वका धनीहरूको सूचीमा एक जना सुन्दरी पनि परेकी छिन्।  जसको कारण पनि फोर्ब्सको सुची चर्चामा छ। हुन पनि कोसँग कति सम्पत्ति छ भनेर जब फोर्ब्सले लेख्छ तब मात्र मानिस वास्तविक धनीको रूपमा स्थापित हुन्छ। यसको अर्थ फोर्ब्सले अर्बपति भनेपछि मात्रै मान्छे अर्बपतिमा गणना हुन्छ। 

हो, किम कार्दशियनको हकमा पनि यस्तै भएको छ।  यो वर्ष देखि उनी विश्वका अर्बपतिको सूचिमा सामेल भएकी छिन्। अभिनेत्री तथा टेलिभिजन सिरिज निर्माता एवं सञ्चालक किमको पुरा नाम किम्बर्ले किम कार्दशियन वेस्ट हो। अमेरिकी नागरिक किम एक टेलिभिजन व्यक्तित्व, सामाजिक कार्यकर्ता, फ्यासन डिजाइनर, व्यवसायी महिला, मोडल, अभिनेत्री हुन् ।

उनले सञ्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम 'किपिंग अप विथ दि कार्दशियन' निकै चर्चित छ। सोही कार्यक्रमको मूल्यमा वृद्धि हुँदा उनी १ अरब डलरकी धनी भइन्।  गत वर्ष अक्टोबरसम्म ७८० मिलियन डलर मूल्य रहेको उनको कार्यक्रमको मूल्याङ्कन हाल १ अरब डलर पुगेको फोर्ब्सले जनाएको छ। 

सन् २०१७ मा केकेडब्लु ब्युटी ब्रान्ड स्थापना गरेकी ४० वर्षीय कार्दशियन कस्मेटिक लगायतका धेरै क्षेत्रमा काम गर्छिन्। उनको कस्मेटिक कम्पनीको २० प्रतिशत शेयर हालै २०० मिलियनमा बिक्री भएको थियो। जसले उनको कम्पनीको मूल्य १ अरब डलर रहेको स्पष्ट परेको छ। 

उनलाई इन्स्टाग्राममा २१३ मिलियन जनाले पछ्याइरहेका छन् भने ट्विटरमा ६९.६ मिलियन उनको पछि छन्।  

विश्वका अर्बपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् । मङ्गलवार सार्वजनिक भएको सूचीमा अमेजन कम्पनीका संस्थापक तथा सिइओ जेफ बेजोस लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहेका छन् ।

अर्बपतिको सूचीको दोस्रो स्थानमा टेस्ला कम्पनीका सिइओ एलन मस्क रहेका छन् । गत वर्षको सूचीमा उनी ३१औँ स्थानमा थिए । यो पटकको अर्बपतिको सूचीमा ४९३ जना नयाँ अर्बपतिहरु थप भएका छन् ।

प्रतिक्रिया दिनुहोस