aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

देउवा प्रधानमन्त्री बन्नुहुन्छ : यादव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
देउवा प्रधानमन्त्री बन्नुहुन्छ : यादव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘ढुक्क हुनुहोस, नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, अहिले त्यसको लागि सकारात्मक वार्ता भैरहेको छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आगामी नयाँ वर्ष अर्थात बैशाखभित्रै मुलुकले नयाँ सरकार पाउने विश्वास दिलाएका हुन् । उनले भने,‘हामी वर्तमान सरकारको विपक्षमा छौं । यो सरकार १०० प्रतिशत परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउँछ ।’

नेता यादवले आफ्नो पार्टी अहिलेपनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुनसक्ने तर्क पेश गरे । उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, मुलुकको शान्ति÷सुरक्षा निष्क्रिय भएको लगायत दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री ओली बालुवाटारभन्दा अन्त कतै नगएको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले बालुवाटारबाट हालै गरेका विभिन्न विकास आयोजनाको शिल्यान्यासलाई नाटकको संज्ञा पनि दिए । 

यादवले मेलम्चीको पानी काठमाडौं आएकोमा खुशी व्यक्त गर्दै उनले किसुनजीको सपना साकार भएको पनि उल्लेख गरे । उनले भने,‘मेलम्चीको पानी काठमाडौं आयो, यो खुशीको कुरा हो । किसुनजीको सपना साकार भयो । तर, प्रधानमन्त्रीले किसुनजीको नाम कतै पनि लिनुभएन । उहाँले किसुनजीको नाम उच्चारण पनि गर्नुभएन् ।’ 

उनले ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई विदाई गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले सबैको साझा दुश्मनको रुपमा रहेको ओली सरकार हो । यो सरकारलाई विदाई गर्न ढिलाई गर्नुहुँदैन्, जति ढिलाई गर्यो त्यति पछुताउनुपर्छ ।’ फरक प्रसँगमा उनले बालुवाटार र बुढानिलकण्ठलाई एउटै दुरीमा राखेर हेर्न नहुनेपनि धारणा राखे । ओली सरकारको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच वार्ता सकारात्मक भएको भन्दै छिट्टै अविश्वासको प्रस्ताव दर्ता हुने पनि उनको दाबी छ । 

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारेका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव एकै पटक आउने पनि विश्वास दिलाए । 

उनले आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भैसकेको जनाए । तर, सत्ता समिकरणको निर्णायक शक्ति जनता समाजवादी पार्टी, नेपाल भने अन्यौलमा रहेको उनको भनाई थियो । 

वर्तमान प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेको उनको आरोप छ । उनले भने,‘उहाँले जनमतको सम्मान गर्नसक्नुभएन, सरकार र संसद्को राम्रो व्यवस्थापन पनि गर्न सक्नुभएन, पार्टीको त झनै गर्न सक्नुभएन ।’ पुष ५ गते संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफूहरु सडक संघर्षमा गएको र त्यतिवेला प्रधानमन्त्रीको कदमको विरोध कांग्रेस र माओवादी केन्द्रले पनि गरेको उनको भनाई छ । 

उनले संसद पूनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्ने धारणा राखे । अहिलेपनि प्रधानमन्त्री ओलीले संसद् विघटन ठिक थियो र फेरि पनि ताजा जनादेशमा जानुपर्छ भनेर भन्ने गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खेलाँचीको संज्ञा दिए । 

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी र पद जोगाउनको लागि अस्थायी प्रकृतिको तमसुक गर्न खोजिरहेको पनि आरोप लगाए । उनले भने,‘उहाँले गर्ने अस्थायी प्रकृतिका सम्झौताले समस्याको समाधान हुँदैन् । सहमति कार्यान्वयन गर्ने सवालमा प्रधानमन्त्री ओली उदासिन हुनुहुन्छ । सरकारको आयु लम्ब्याउन उहाँले पद बाँड्ने र लोभ र लालच देखाउने र आश्वासन बाँड्ने काम गर्दै हुनुहुन्छ ।’ 

उनले मुद्दाको हिसाबले सहकार्य हुनुपर्नेमा जोड दिँदै कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । आफ्नो पार्टी यो विषयमा स्पष्ट रहेको उनले सुनाए । आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकोले अब केही दिनभित्रै समर्थन फिर्ता लिइने पनि उनले जनाए । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक हुनेपनि उनले स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीसँग हाम्रो विश्वास टुटेको छ । कांग्रेस दोस्रो ठूलो दल हो, उसले सरकारको नेतृत्व लिनेगरि पहलकदमी र नेतृत्व लिनुपर्छ । हामीले कांग्रेसलाई सरकारको नेतृत्व लिनुपर्छ भनेका छौं ।’

आफूहरुले जसपालाई पनि प्रधानमन्त्री ओलीसँग उधारो सहमति नगर्न सुझाव दिएको पनि पौडेले सुनाए । उनले भने,‘बरु, हामीले त सरकार बनाउनुपर्छ, आँफै समस्याको समाधान गरौं भनेका छौं । संयुक्त सरकार बनाउनुपर्छ ।’ नेता पौडेलले प्रदेश सरकारमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेकाहरु गणित नपुगे हट्ने स्पष्ट पारे । उनले केन्द्रीय सरकार बनाउनको लागि गणित पुग्ने विश्वास दिलाउँदै छिट्टै नयाँ सरकार बन्ने दाबी गरे । 

जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता वृषेशचन्द्र लालले आफ्नो पार्टीको एजेण्डा सरकार परिवर्तन वा सरकारलाई निरन्तरता दिनेभन्दापनि मुद्दा सम्बोधन नै मुख्य रहेको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार पविर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होईन, हामीलाई हाम्रो मुद्दा सम्बोधन गर्नुपर्छ ।’ 

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाई हुनुपर्ने पनि सुनाए । उनले भने,‘हाम्रो संघर्ष भनेको यो सरकारलाई परिवर्तन गर्नमात्रै होईन् ।’
उनले आफूहरुले माग पूरा गराउनको लागि राज्यसँग वार्ता गर्नुपर्ने भएकोले सोहीअनुसार अहिले सरकारसँग वार्ता भैरहेको पनि विश्वास दिलाए । उनले भने,‘हाम्रा वार्ताकारहरु उत्साही हुनुहुन्छ । अहिले हामी माग पूरा हुनेमा विश्वास गरिराखेका छौं ।’ उनले आफूहरु कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको भन्दै तटस्थ रहेको बताए । 

उनले आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा गरिराखेको सुनाए । उनले भने,‘हाम्रो माग राष्ट्रिय मुद्दा हो । ठूला दलहरुले यी माग पूरा गर्ने सवालमा सार्वजनिक रुपमा आफ्नो धारणा राख्नुभएको छैन् । तर, सरकार बनाउनको लागि संख्या पुर्याउने खेलमा हामी यसमा सहमत छैनौं ।’

वैकल्पिक सरकार किन बनेन ? भनेर आफूहरुलाई नसोध्नपनि उनले आग्रह गरे । उनले भने,‘यसमा हामीलाई दोष नदिउँ । हामी त प्रष्ट छौं । हाम्रो माग पूरा हुनुपर्छ । समर्थन फिर्ता नलिनेहरुलाई पनि म भन्न चाहन्छु कि गठबन्धनको आधार के हुन्छ ? कुरा त प्रष्ट आउनुपर्यो नि । कुर्सी बचाउने वा सरकार बदल्ने हाम्रो प्राथमिकता होईन् ।’

प्रतिक्रिया दिनुहोस