
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भोलि चैत २८ गते शनिबार ‘भिजन पेपर’ सार्वजनिक गर्ने भएको छ । सन् २०३० सम्म एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने सोचका साथ तयार पारिएको उक्त भिजन पेपर प्रधानमन्त्री केपी शर्मा ओलीबाट सार्वजनिक गराउने तयारी नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ । भिजन पेपरले सन् २०३० सम्म २३ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छ । महासंघको साधारणसभाको अवसरमा ‘राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र, २०३० भिजन पेपर सार्वजनिक गर्न लागिएको हो ।
तुलनात्मक लाभ भएको क्षेत्रलार्ई विशेष प्राथमिकतामा राखेर तयार पारिएको उक्त भिजन पेपरले उत्पादन तथा उत्पादकत्व बढाउन र रोजगारी सिर्जना, उद्यमशीलता विकासलगायत विविध आयामका विषयमा काम योजना बनाएको छ । मूलत नेपालमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ । सोही आवश्यकता परिपूर्ति हुने गरी भिजन पेपर तयार पारेको हो । अन्तर्राष्ट्रिय व्यापारको हिस्सा बढाउँदै आयात प्रतिस्थापन गर्ने सोचका साथ भिजन पेपर तयार पारिएको हो । महासंघको आर्थिक रुपान्तरण मार्गचित्रमा दश प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचानका कार्यक्रमहरू रहेको छ ।
कृषि, पूर्वाधार निर्माण, उत्पादन, सेवामूलक क्षेत्रमा लगानी बढाउन के–के सुधार गर्ने भन्ने विषय उक्त भिजन पेपरमा समावेश गरिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले यो सोचपत्रले निजी क्षेत्रको आवाजमा एकरूपता ल्याउनुका साथै देशको अर्थतन्त्र निर्माणमा कोशे ढुंगा सावित हुने बताएका छन् ।
नेपालको पूर्वाधार कमजोर भएको उल्लेख गर्दै उनले भन्दै आएका छन् ‘ समृद्ध नेपाल निर्माण गर्न नलेज र इन्भेष्ट दुबै चाहिन्छ ।’
साढे २ वर्ष लगाएर तयार पारिएको उक्त भिजन पेपरमा ५० जना स्टाटअपलाई पुँजीको व्यवस्थापन मिलाउन एक उद्यमी एक लगानीकर्तासहित उद्यम गर्न सघाउने तथा सिकाउने, एशियाको मुख्य सेवा केन्द्र नेपाललाई बनाउने तथा डाटा बेस र भिजन सहितको संस्था बनाउने तयारी महासंघले गरेको हो ।
उनले २०३० को दशक भित्र विश्वमा विभिन्न देशलाई हेरेर आर्थिक विकासको आधार तयार गर्ने, कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यक र महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमूखी परियोजनाहरूमा स्वदेशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाउने उनको भनाइ छ ।
सरकार र अन्य साझेदारहरूसँग सहकार्यका लागि तयार पारेको सोचपत्र (भिजन पेपर) मा उद्यमशीलता प्रवद्र्धन र लगानी आकर्षित गर्न आधारभूत रूपमा निजी क्षेत्रको सम्मानित भूमिका हुनुपर्ने उनले पटक पटक बताउँदै आएका छन् । नाफा गर्नु निजी क्षेत्रको धर्म र प्राथमिक कर्तव्य भएको भन्दै उनले नाफा बिना उद्यम, व्यवसाय सञ्चालन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस